Logo
१५ बैशाख २०८१, शनिबार
(January 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका औद्योगिक क्षेत्रको अवस्थाबारे संघीय मन्त्रालय नै अनविज्ञ छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले देशका औद्योगिक क्षेत्रहरूको पछिल्लो अवस्थाबारे संघीय मन्त्रालय नै अनविज्ञ रहेको बताएका छन् ।

हेटौँडामा आयोजित उद्योग संघ मकवानपुरको २० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश भित्रका ४ वटा औद्योगिक क्षेत्रको पछिल्लो अवस्था बारे संघीय मन्त्रालय नै अनविज्ञ रहेको बताएका हुन् ।

उनले ती औद्योगिक क्षेत्रको अवस्था सुधार गर्ने काम संघीय मन्त्रालयको प्राथमिकतामा समेत नपरेको बताए । उनले ती औद्योगिक क्षेत्रको संरक्षण नहुँदा औद्योगिक क्षेत्रका जमिनहरू जङ्गलमा परिणत भएका छन् भने त्यसको अवस्था बुवा आमा नभएका टुहुरा सन्तानको जस्तो रहेको बताए ।

उनले भने, ‘बागमती प्रदेशमा ४ वटा औद्योगिक क्षेत्रहरू पर्छन् । ती औद्योगिक क्षेत्रको अवस्था आमाबुवा गुमाएका सन्तानको हालत जे हुन्छ त्यस्तै छ । आज भन्दा ३० औँ वर्ष अघि जसले उद्योग खोल्छु भनेर जग्गा लिजमा लियो त्यो मान्छे अहिले कहाँ छ थाहा छैन तर उनीहरूकै नाममा त्यो जग्गाको स्वामित्व छ । बनमारा उम्रिसक्यो उद्योग बनाउने ठाउँमा बेहाल छ । त्यसको संरक्षण छैन । सिंहदरबारको मन्त्रालयलाई त्यो ज्ञान छैन ।’

विगतमा प्रदेश सरकारको विषयगत मन्त्रालय पर्यटन र वनसँगै रहेकाले उद्योगका क्षेत्रमा खासै काम गर्न नसकेको उनको भनाई छ । पर्यटन र वनका काम गर्न सजिलो हुने भएकाले उद्योगतर्फ कुनै मन्त्रीहरूको ध्यान नगएको उनले बताए ।

ती नै उद्योगहरूको विषयमा काम गर्न मन्त्रालय विभाजन गरेर सम्बन्धित मन्त्रीहरूलाई जिम्मेवारी दिएको र यसबाट सम्बन्धित क्षेत्रहरूमा देखिने गरी प्रगति हुने उनले बताए ।

उनले उद्योगीहरूको समस्याको समाधानका लागि प्रदेश सरकार तयार रहेको बताए । प्रदेश सरकारको क्षेत्र भन्दा बाहिरको समस्याहरू मन्त्रिपरिषद्बाट निर्णय गरेर संघीय सरकार समक्ष पठाउने उनले बताए ।

उनले विद्युत् प्राधिकरणलाई धराशायी हुनबाट जोगाउन पनि हामीले विद्युत् खपतलाई बढाउनु पर्ने हुन्छ त्यसैले अन्य ऊर्जाको प्रयोग कम गरेर विद्युतीय ऊर्जाको प्रयोग बढाउनु पर्ने आवश्यकता देखिएको बताए ।

विगतमा विद्युत् ऊर्जाको कमी हुँदा विभिन्न ठुला उद्योगहरू नेपालमा स्थापना गर्न नसकिएको र हाल करिब ६ सय मेगावाट विद्युत् खेर गइरहेकाले उद्योगहरूले पनि विद्युत् खपत बढाउनतर्फ अग्रसर हुनु पर्ने उनको भनाई छ ।

कृषि क्षेत्रलाई पनि उद्योगसँग जोड्दै लैजाने योजना अनुसार प्रदेश सरकारले हेटौँडा औद्योगिक क्षेत्र भित्रै एउटा प्रदेशस्तरको कृषि औजार तथा उपकरण उत्पादन कम्पनीको पनि स्थापना गर्ने तयारी गरेको उनले बताए ।

 

 

 

प्रकाशित मिति: Jan 10, 2022

प्रतिक्रिया दिनुहोस्