ओलीसँग संवाद गर्ने जिम्मा समन्वय समितिको बैठकले दियो प्रधानमन्त्री देउवालाई
प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा जाँदै छन् । प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार ओलीलाई भेट्न देउवा बालकोट जाने भएका छन् ।उनले भनिन्, ‘हाम्रो आजको बैठकले संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीजीसँग सांसद गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ । समय लिएर प्रधानमन्त्रीजी उहाँलाई भेट्न बालकोट जाने कुरा भएको छ ।’
बुधबार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट ओलीलाई भेटेका थिए । पौडेलसँगको भेटमा ओलीले प्रधानमन्त्री देउवासँग संवाद गर्न चाहेको आशय व्यक्त गरेका थिए ।
त्यसपछि बिहीबार उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजक पौडेलले बैठक राखेर संसदको गतिरोध अन्त्यका विषयमा छलफल थालेका थिए ।
सोही बैठकको निरन्तरता स्वरुप आज बसेको समितिको बैठकले ओलीसँग संवाद गर्न प्रधानमन्त्रीलाई जिम्मा दिएको छ । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त गरेको भन्दै २३ भदौयता एमालेले सांसदका बैठकमा नाराबाजी गर्दै आएको छ ।
संसदलाई सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।