Logo
२३ आश्विन २०८१, बुधबार
(December 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

लुम्बिनी प्रदेश स्थित बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारीले बताए ।

अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ ।श्रीमती सुशीला होसमै रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए ।

त्यसपछि उनीहरुलाई अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

यद्यपि मृत्युको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Dec 30, 2021

प्रतिक्रिया दिनुहोस्