निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको प्रति माओवादीको आपति
निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।निर्वाचन आयोगले दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ ।
आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति जनाएका हुन् । आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग संघर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो ।
माओवादी केन्द्रको जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले आयोगको निर्णयको प्रतिवाद गरेका हुन् ।
प्रवक्ता महराले पार्टीको नाम, स्वतन्त्रता र विचार उसको मार्गदर्शक सिद्धान्तका आधारमा बन्ने भन्दै आयोगले यस विषयमा लचकताका साथ सोच्नेछ भन्नेमा आफू विश्वस्त भएको बताए ।
संविधान र कानुनमा नभएको कुरा विधानमा राख्न मिल्दैन भन्दै आयोगले माओवादीको विधानबाट ती शब्द हटाइदिएको छ ।
माओवादीले भने आयोगको सो निर्णय अस्वीकार गरेको छ । माओवादीको विधानमा वर्ग संघर्षलाई समाज विकासको मुख्य आधार भन्ने उल्लेख गरिएको छ । नेकपा एमालेले पनि आयोगको उक्त निर्णयको प्रतिवाद यसअघि नै गरिसकेको छ ।
एमालेका उपमहासचि विष्णु रिमाल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललगायतले आयोगमा पुगेर दलहरूले आफ्नो लक्ष्य विधानमा उल्लेख गर्न पाउने अधिकार रहेको जनाएका थिए ।