Logo
२१ बैशाख २०८१, शुक्रबार
(December 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूले चुनावमा हारे पनि आगामी दिनमा महिलाहरू नेतृत्वमा आउने मार्ग कोरेको छु : कोइराला

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएपछि नेत्री सुजाता कोइरालाले आफूले पार्टीको चुनाव हारे पनि विजयी भएको महसुस गरेको बताएकी छन् ।

कोइरालाले उपसभापतिमा पराजित भएपछि आज फेसबुकमा स्टाटस लेख्दै आफूले चुनावमा हारे पनि आगामी दिनमा महिलाहरू कांग्रेसको नेतृत्वमा आउने मार्ग कोरेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘मैँले यो महाधिवेशनबाट आफूलाई विजयी ठानेको छु । कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैँले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको छ ।

देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी भएका पार्टीका साथीहरु विशेष गरी महिलाहरुको मुहारमा आशा र उत्साह देखेको छु । यसले मलाई अझै हौसला थपेको छ ।’

उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट आफू सधैँ प्रेरित रहेको भन्दै पार्टीभित्र र सिङ्गो देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गरिन् ।

‘गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधैँ प्रेरित छु । पार्टीभित्र र सिङ्गो देशमा सहमति, सहकार्य र एकताको खाँचो छ । म सबैलाई महाधिवेशनपछि एक ढिक्का हुन अपिल गर्दछु । नेपाली काँग्रेस एक ढिक्का भए मात्र लोकतन्त्र बलियो हुन्छ । मेरो अबको भूमिका काँग्रेसलाई एकताबद्ध बनाउन पनि हुनेछ ।’

नेत्री कोइरालाले उपसभापतिमा आफूसँग प्रतिस्पर्धा गरेर विजयी भएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन् ।

प्रकाशित मिति: Dec 16, 2021

प्रतिक्रिया दिनुहोस्