Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो चरणको निर्वाचन : शेखरबाहेक सबै उम्मेदवार आफ्नो पक्षमा उभिएपछि देउवाको जित निश्चित

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज ३.३० हुन गइरहेको छ ।

सोमबार भएको पहिलो चरणमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेका कारण दोस्रो चरणमा निर्वाचन हुने भएको हो ।

दोस्रो चरणका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुइ जना शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेभएको छ ।
पहिलो चरणमा सभापति पदका लागि पाँच उम्मेदवार रहेकोमा सबैभन्दा बढी मत देउवा र दोस्रो बढी मत कोइरालाले ल्याएका थिए ।पहिलो चरणमा ४ हजार ६ सय ८१ मतमध्ये देउवाले २२५८ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी शेखर कोइरालाले १७०२ मत पाए ।

दोस्रो चरणको चुनावी रेसबाट बाहिरिएका बाँकी तीन उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई नै सघाउने घोषणा गरिसकेका छन् । यसले गर्दा दोस्रो चरण देउवाको लागि सहज सृजना भएको हो ।

पहिलो चरणमा प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५०, मत कल्याण गुरुङले २२ मत पाएका छन् । यी तीनै समुहले देउवालाई नै सघाउने घोषणा गरिसकेका कारण यिनले पाएको मत देउवालाई नै जोड्ने हो भने देउवाको पक्षमा २८७९ मत पुग्ने देखिन्छ ।

दोस्रो चरणको निर्वाचनमा सभापति पदका दुई उम्मेदवारमध्ये जसले बढी मत ल्याउँछ, उही विजयी हुन्छ । पहिलो चरणमै ४८ प्रतिशतभन्दा बढी मत ल्याएका देउवाले दोस्रो चरणका लागि ‘रिङ आउट’ भएका सिंह र निधि र गुरुङको समर्थनसमेत जुटाएका कारण सहजै जित हासिल गर्ने आँकलन गरिएको छ ।

पहिलो चरणमा देउवाले हासिल गरेको मतलाई आधार मान्ने हो भने जितका लागि देउवालाई अब ‘रिङ आउट’ भएका प्रत्यासीमार्फत थोरैमात्र मतको सहयोग आवश्यक पर्दछ । त्यसैले पनि देउवाका लागि दोस्रो चरणको प्रतिस्पर्धा सहज बन्दै गएको छ ।

यद्यपि १३ औं महाधिवेशनमा दोस्रो चरणमा भएको मत परिणामलाई हेर्ने हो भने पहिलो चरणको निर्वाचनपछि प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारले समर्थन गर्दैमा सबै मत आफू समर्थित उम्मेदवारलाई नै जान्छ भन्ने ग्यारेन्टी भने देखिँदैन ।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्