Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो चरणको चुनावमा देउवालाई नसघाउने विमलेन्द्र निधिको घोषणा

शुक्रबारदेखि जारी रहेको कांग्रेसको १४ औं महाधिवशेनमा नयाँ नेतृत्व चयनका लागि एकदमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । सभापति पदका लागि मात्रै पाँच जनाले उम्मेदवार दर्ता गराएका छन्  । त्यसैले गर्दा पनि यो पटको महाधिवेशनमा कडा प्रतिस्पर्धा हुने निश्चित देखिन्छ ।

त्यस्तै आज नेपाली कांग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गरेका छन् ।

आज आइतबार भृकुटीमण्डपमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन । त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यसबेला देउवा इतर रहेका हामी सबै एक हुन्छौं ।’

सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले पदाधिकारीहरुको पूर्ण प्यानल बनाउन नसकेपछि उनी पहिलो चरणबाट नै आउट हुने सम्भावना बढेको छ । पहिलो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने र सिंहसँगै निधि पनि आउट हुने विश्लेषण गरीएको छ ।

कांग्रेस सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङसँगै निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि देउवा गुटमा नै रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, सबैको अनुमानविपरीत निधिले दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गरे ।

पछिल्लो समय देउवा र निधिबीच सम्बन्ध चिसिएको छ । निधिले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि देउवाले उनीप्रति कुनै चासो देखाएका छैनन् । बरु कृष्णप्रसाद सिटौलासँग तालमेल गरेका छन् ।

निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाउने ठोकुवा गरेका छन् । नेपाली काँग्रेसको विधानअनुसार सभापतिको उम्मेदवारले जित हात पार्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ ।

कसैले पनि ५० प्रतिशत मत नल्याए दोस्रो चरणमा पहिलो र दोस्रो हुने दुई उम्मेदवारबीच पुनः मतदान गर्ने विधानमा व्यवस्था छ ।

अघिल्लो १३औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदा देउवाले ५० प्रतिशत मत कटाएका थिए । दोस्रो चरणमा सिटौला आउट भएका थिए भने देउवा र पौडेलबीच पुनः मतदान भएको थियो ।

 

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्