Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको नागाल्याण्डमा सुरक्षा बलको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु

छिमेकी मुलुक भारतको प्रान्त नागाल्याण्डको मोन जिल्लामा सुरक्षा बलको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ ।

उग्रवादी संगठन एनएससीएनसँग जोडिएको आशङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोली चलाएको बताइएको छ ।घटनापछि सो क्षेत्रमा हिंसा फैलिएको छ ।

सुरक्षाकर्मी र स्थानीयबीच हिंस्रक झडप भएको छ । असम राइफल्सका अधिकारीहरूका अनुसार घटनामा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् ।

यसमध्ये एक सैनिक गम्भीर रूपमा घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । यस घटनाबारे कोर्ट अफ इन्क्वायरी गठन गर्न आदेश दिइएको छ ।

मिडिया रिपोर्टका अनुसार गोप्य सूचनाका आधारमा उग्रवादी संगठनविरुद्ध कारबाहीका लागि सुरक्षाकर्मी तिरु–ओटिङ सडकमा एम्बुसमा बसेका थिए । तर उनीहरूले गाउँलेलाई विद्रोही सम्झेर गोली बर्साए ।

गोप्य सूचनामा जुन रङ्गको गाडी भनिएको थियो, गाउँलेहरू त्यस्तै रङ्गको गाडीमा सवार भएर आएका थिए । गाडीको रंग एउटै पाएपछि सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोलाबारी सुरु गरेका थिए ।

भारतीय मिडियाका अनुसार मारिने सबै मजदुर थिए । उनीहरू कामपछि एक पिकअप ट्रकको पछाडि बसेर घर फर्किँदै थिए । रातिसम्म घर नपुगेपछि गाउँलेहरूले उनीहरूको खोजी सुरु गरेका थिए । घटनाबारे थाहा पाएपछि आक्रोशित बनेका गाउँलेले सुरक्षाकर्मीको गाडीमा आगजनी गरेका थिए ।

नागाल्याण्डका मुख्यमन्त्री नीफियू रियोले यस घटनालाई निन्दनीय बताएका छन् । उनले उनले यसबारे उच्चस्तरीय जाँच गरिने बताएका छन् । उनीले सबैलाई न्याय दिलाउने वाचा गर्दै शान्ति कायम गर्न अपिल गरेका छन् ।

त्यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले पनि ट्वीट गर्दै घटनालाई दुर्भाग्यपूर्ण बताउँदै आफू यसबाट आफू दुखी भएको बताएका छन् । उनले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै न्याय दिलाउने बताएका छन् ।

 

 

प्रकाशित मिति: Dec 5, 2021

प्रतिक्रिया दिनुहोस्