Logo
६ जेष्ठ २०८१, आईतबार
(November 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशमा अहिले भइरहेको अराजकता र जनतामा रहेको नैरश्यताको कारण राजनीतिक दल हो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अहिले देखिएको विसङ्गतिको जिम्मा राजनीतिक पार्टीहरूले लिनुपर्ने बताएका छन् ।

चितवनको भरतपुरमा बिहीबार एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देश दिँदै अध्यक्ष केसीले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा भएको विसङ्गतिको जिम्मा राजनीतिक दलको भूमिका रहेको उल्लेख गरे ।

अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र भएको अस्तव्यस्तताको जिम्मा लिन आग्रह गर्दै देशमा भइरहेको अराजकता जनतामा रहेको नैरश्यताको कारण राजनीतिक दल भएको बताए ।

उनले भने–‘हामी राजनीतिक गर्ने व्यक्तिहरू नसुध्रीकन देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अगाडि राखेर राज्य र जनताको स्वार्थलाई अगाडि राखेर हामीले राजनीति गरेनौँ, राजनीतिलाई विशुद्ध पेसाको रूपमा अपनायौँ भने नेपाली जनताले यस्तो अप्ठेरो अवस्था देखिरहन्छन् । हामीले बाह्य शक्तिलाई दोष लगाउँछौँ । बाह्य शक्ति त खेल्छ त हामीले लडाई गर्नुपर्ने, हामीले एकले अर्कोलाई खुइलाउनुपर्ने, बदनाम गर्नुपर्ने, बाहिरकाले त्यही खोजिरहेका छन् ।’

उनले नेपालमा गणतन्त्र धर्मनिरपेक्षता ल्याएको बताउँदै जसरी देश अगाडि बढ्नुपर्थ्यो त्यो नभएको बताए । उनले भने-‘हामीले नेपालमा गणतन्त्र ल्यायौँ, धर्मनिरपेक्षता स्थापना गर्‍योै, हामी पटक पटक चुनावमा पनि गयौँ । अहिले मुलुक जसरी अगाडि बढ्नुपर्ने थियो त्यसरी गइरहेको छैन । संसद् अस्तव्यस्त छ । कार्यपालिका भित्र पनि राम्रो वातावरण छैन । न्यायपालिका भित्र पनि राम्रो स्थिति छैन निराशा छ । उही मैले भनेजस्तै वारीकाले पारीकालाई कालीपारी र पारीकाले वारीकालाई कालीपारी भनेजस्तै राजनीतिक पार्टीहरू एउटाले अर्कोलाई दोष लगाइरहेका छौँ । यो हाम्रो कारणले भएको हो भनेर हामी राजनीतिक पार्टीहरूले जिम्मा लिन सक्नुपर्छ ।’

अध्यक्ष केसीले कम्युनिष्ट आन्दोलनमा २००६ सालमा भएको कम्युनिष्ट पार्टी स्थापनादेखि नै अन्तर्विरोध सुरु भएको बताए । उनले प्रजातान्त्रिक आन्दोलन र बाम आन्दोलनको सहकार्यबाट नै देशमा प्रजातन्त्र आएको बताए ।

 

 

प्रकाशित मिति: Nov 26, 2021

प्रतिक्रिया दिनुहोस्