Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले महाधिवेशन चार मुलुकका १५ विदेशी पाहुना आउने, चीनसहित २५ देशबाट सन्देश

भोलिबाट शुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा चार मुलुकका राजनीतिक दलले भौतिकरुपमै सहभागिता जनाउने भएका छन् ।
२५ मुलुकका दलले शुभकामना सन्देश पठाएका छन् ।

एमाले विदेश मामिला विभागले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै चितवनमा भोलिदेखि सुरु हुने महाधिवेशनमा सहभागी हुन आउने विदेशी पाहुनाबारे जानकारी गराएको हो ।

चार मुलुकका ८ वटा राजनीतिक दलका १५ पाहुनाले महाधिवेशमा भाग लिने विभागले जनाएको छ । दक्षिण छिमेकी भारतबाट सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)सहित पाँच दलका प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका छन् ।

बीजेपीको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री हर्षबद्र्धन र राष्ट्रिय सचिव हरिश द्धिवेदीले सहभागिता जनाउने भएका छन् ।हर्षवद्र्धन र द्धिवेदी आजै अपरान्ह काठमाडौं आइपुगेका छन् ।

भाकपाबाट पल्लव सेन गुप्ता, भाकपा माक्र्सवादीबाट जोगेन्द्र शर्मा, भाकपा माक्र्सवादी लेनिनवादी लिब्रेसनबाट वीरेन्द्रप्रसाद गुप्ता र सन्दीप सौरभ आइपुग्ने भएका छन् ।

भाकपा लिब्रेसन बिहारको दल भएकाले गुप्ता र सौरभ सडकमार्गबाटै चितवन पुग्नेछन् ।कम्बोडियाबाट सुस याराको नेतृत्वमा चार सदस्यीय डेलिगेसन टोली आउँदैछ । बंगलादेश कम्युनिष्ट पार्टीको तर्फबाट हसन तारिक चौधरीको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं आइपुगेको छ ।

२५ मुलुकबाट शुभकामना सन्देश प्राप्त भएको विदेश मामिला विभागका प्रमुख राजन भट्टराईले जानकारी दिए । ब्राजिल र भियतनामबाट शुभकामना सन्देश आउने क्रममा रहेको उनले जनाए । राजदूतहरुलाई पनि निम्तो गरिएको र कतिपयले महाधिवेशनमा आउने जानकारी दिएको भट्टराईले बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दल अल रसियन पोल्टिक पार्टी युनाइटेड रसियासहितका पार्टीले सन्देश पठाइसकेका छन् । ग्रीस, म्यानमार, टर्की, आयरल्यान्ड, फ्रान्स, चीन, जर्मनी लगायत मुलुकका राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् ।

कोरोना महामारीको कारण देखाउँदै जर्मनी र फ्रान्सका दलहरुले भौतिकरुपमा आउन नसक्ने बताउँदै शुभकामना सन्देश पठाएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी०ले शुभकामना सन्देश पठाएको छ । विगतमा सीपीसीका प्रतिनिधिले भौतिकरुपमै सहभागिता जनाएका थिए ।

‘चीनसँग हाम्रो पार्टीगत सम्बन्ध सघन र सुमधुर छ । कोरोनाकै कारण उहाँँहरुले आउन नसक्ने बताउनुभएको छ । अन्य कारण छैन । उहाँहरु महामारीलाई लिएर संवेदनशील हुनुहुन्छ’ पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘यसपटक कोरोनाकै कारण धेरै पार्टीहरुले शुभकामना सन्देश पठाउनुभएको छ ।’

कम्युनिस्ट मुलुक क्यूवाले कोरोनाकै कारण आउन नसकेको जानकारी दिएको उनले बताए । उत्तर कोरियालाई पनि निम्तो गरिएको र शुभकामना सन्देश पठाउने जानकारी पठाएको जनाइएको छ ।

विदेशी पाहुनाहरुलाई राजधानीको होटल सोल्टीमा बसोबासको व्यवस्था मिलाइएको छ । एमाले विदेश मामिला विभागका प्रमुख भट्टराईले आज साँझ सोल्टी होटलमै रात्रीभोजको आयोजना गरेका छन् । विदेशी पाहुनाले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना सन्देश पनि दिने भएका छन् ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी पाहुनासँग मंसिर १२ गते बिहान चितवनमा ब्रेकफास्ट मिटिङ गर्ने छन् । त्यसबीचमा पार्टीका विभिन्न तहमा रहेका नेतासँग उनले द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

चितवनमा ग्रीन मेनसन होटलमा विदेशी पाहुनालाई बसोबासको व्यवस्था मिलाइएको छ । साथै चितवनका पर्यटकीय ठाउँको भ्रमण समेत गराइने भएको छ । दृश्यावलोकन, जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको समेत अवलोकन गर्ने कार्यक्रम राखिएको छ ।नेपाल प्रेस

 

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्