Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको सुरक्षा निकायको दक्षता र क्षमता अभिवृद्धि गर्न विशेष प्राथमिकता : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौंमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा जोड दिए ।

शान्ति, सुरक्षा, विकास निर्माण र सुशासनको आधारशीला भएको उल्लेख गर्दै उनले मुलुकको अस्तित्व जोगाउन तथा नागरिकको सुरक्षित जीवन सम्भव बनाउन सबल र सुदृढ आन्तरिक तथा बाह्य सुरक्षा प्रबन्ध आवश्यक भएको बताए ।

‘सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न विशेष जोड दिँदै आएको छ’, प्रधानमन्त्री देउवाले भने । राष्ट्र र जनताप्रति अनुशासित, इमान्दार, व्यावसायिक र उत्पादनशील भएर काम गर्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिए । प्रधानमन्त्री देउवाले सीमा अपराध नियन्त्रणलगायत राष्ट्रियता तथा मुलुकको अस्मिता जोगाउन अग्रपङ्क्तिमा खटिएर काम गर्दैआएकामा सशस्त्र प्रहरीको प्रशंसा गरे।

नेपालको सुरक्षा निकाय आतङ्कवाद र सीमा अपराध नियन्त्रण गर्न सक्षम रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले भूकम्प र कोभिड-१९ जस्ता सङ्कट र विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि सशस्त्र प्रहरीले गरेको काम अनुकरणीय रहेको स्मरण गरे ।

उनले वर्तमान सरकार विधिको शासन स्थापना गर्न, संविधानको भावना र मर्मअनुसार जनताको नैसर्गिक अधिकारको संरक्षण, भ्रष्टाचारमुक्त समाज निर्माण, भाइचारा र सहअस्तित्व कायम राख्दै सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्ण र समुदायको सर्वाङ्गिण विकास गर्न दृढ सङ्कल्पित रहेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले सरकारको उक्त सङ्कल्प पूरा गर्न तीनै तहका सरकार, राज्यका सबै तह, सङ्घसंस्था, नागरिक समाज र आम जनताको सामूहिक प्रयासको आवश्यकता औँल्याए । उनले कर्तव्यनिष्ठ, लगनशील र अनुशासित भई मुलुक र नागरिकको सुरक्षामा खटिन सुरक्षा निकायलाई निर्देशन दिए ।

 

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्