मुस्ताङको हिम पहिरोमा परेर १५० याक र चौरी बेपत्ता
गण्डकी प्रदेश स्थित मुस्ताङको थासाङमा हिजो आइतबार गएको हिम पहिरोमा परेर १५० याक र चौरी बेपत्ता भएका छन् ।थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिम पहिरोमा परेर बेपत्ता भएका हुन् ।
कोवाङ, लार्जुङ, बोक्सी खोला र नाउरिकोटको शिरमा रहेको माना पाथी हिमालबाट खसेको हिउँ पहिरोमा परेर दुई गोठका याक र चौँरी गाई बेपत्ता भएका हुन् ।
हिउँ पहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए । ‘भाग दौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमर सीङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ’, उनले भने, ‘भीम शेरचन र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौँरीमध्ये १०/१२ वटा मात्र भेटिएका छन् ।’
हिम पहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् । १३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ मात्र देखिएको र बेपत्ता चौँरी हिम पहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
हिम पहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको वासस्थानमा क्षति पुगेको छ । हिम पहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी-जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।
नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँ पहिरोले क्षति पुगेको छ ।
जंगलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापर बालीमा क्षति पुगेको छ ।
सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्र मोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेका थिए । क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए ।
दिउँसो ११ः४० मा ठुलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो ।हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमर सीङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए ।
हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिम पहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिम पहिरो गएको उनको भनाइ छ ।