एमाले महाधिवेशन प्रतिनिधि ४३ जिल्लामा निर्विरोध चयन
नेकपा एमालेका महाधिवेशन प्रतिनिधि ४३ जिल्लामा निर्विरोध चयन भएका छन् ।बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन ।
शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो ।तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, अरुतिर चयन हुन बाँकी छ’, तामाङले भने । अझै पनि कतिपय जिल्लामा प्रतिनिधि चयन गर्ने प्रयत्न भइरहेको उनले बताए ।
निर्विरोध हुन नसकेका जिल्लाहरुमा चुनावको प्रक्रिया अगाडि बढेको छ । निर्वाचनको माध्यमबाट प्रतिनिधि चयन भएको विवरण आउन बाँकी रहेको पनि तामाङले बताए ।
१०-१२ मंसिरमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले १,९९९ प्रतिनिधि चयन गर्दैछ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश, जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास लगायतलाई क्लस्टर बनाएर एमालेले प्रतिनिधि चयन गर्दैछ ।