Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ बर्षमाथीका दीर्घ रोगीलाई आजदेखि फाइजर खोप लगाइँदै, यी अस्पतालबाट लगाइन्छ खोप

सरकारले २ वर्षमाथिका दीर्घ रोगीलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरेको छ ।

आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो । यसको दोस्रो मात्रा मंसिर २७ गतेदेखि दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो।यो खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ । यस अघि कोभिड विरुद्धको खोप लगाएका खोप केन्द्रमा यसपालि फाइजर खोप लगाउन पाइने छैन ।

सरकारले तोकेका अस्पतालमा मात्रै फाइजर खोप लगाउन पाइनेछ । तोकिएका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन पाइनेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट दिइनेछ ।

खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

खोप कसले पाउने ?

– १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी

-लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति

– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका बिरामी

– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी

– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी

– अङ्ग प्रत्यारोपण गरेका व्यक्ति

– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका बिरामी

– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति

-मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्ति

कसले लगाउन मिल्दैन ?

– कोभिड(१९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्तिले यो खोप लगाउनु हुँदैन ।

-१२ वर्षभन्दा कम उमेर भएका व्यक्तिले पनि यो खोप लगाउनु हुँदैन ।

खोप केन्द्र-

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

काठमाडौं उपत्यकामा रहेका वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

यस्तै प्रदेश १ का मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेश २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ ।

यस्तै बागमती प्रदेशका चितवनको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थित धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

यस्तै गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेल्धुरा अस्पताल तथा कणरली प्रदेशमा सुर्खेतस्थित कणरली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रकाशित मिति: Nov 14, 2021

प्रतिक्रिया दिनुहोस्