Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले र सत्ता गठबन्धनबीच विवाद हुँदा सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी

सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

सहमतिको लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा पनि सहमती जुट्न सकेको थिएन । त्यसपछि जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

सिन्धुलीमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण तथा सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिको विषयलाई लिएर सत्तारुढ गठबन्धनमा रहेका दल र एमालेबीच विवाद हुँदा सदरमुकाम सिन्धुलीमाढी बुधबार बिहानैदेखि तनावग्रस्त बनेको थियो ।

कमलामाई नगरपालिकाले एमाले महासचिव ईश्वर पोखरेललाई सालिक अनावरण र विजयोत्सवमा प्रमुख अतिथि बनाउन लागेको भन्दै गठबन्धन दलले मंगलबारदेखि नै तालाबन्दी गरेका छन् । पोखरेल मंगलबार नै सिन्धुली आइपुगेका छन् ।

लोकतान्त्रिक चोकमा रहेको वाल उद्यान पार्कमा अहिले ठूलो संख्यामा सुरक्षकर्मी परिचालन गरिएको छ । गठबन्धन दलका कार्यकर्ताहरुले पार्कलाई घेरेका छन् भने एमाले सम्बद्ध नेता तथा भ्रातृ संगठन युवा संघका कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका छन् । बिहान ९ बजे सालिक अनावरणको कार्यक्रम तय गरिएको भए पनि अझै सुरु भएको छैन ।

सहमतिका लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा सर्वदलीय बैठक भइरहेको छ । तर अहिलेसम्म निष्कर्षमा नपुगेको बताइएको छ । प्रजिअ न्यौपानेले सहमतिको प्रयास भइरहेको बताए ।

 

प्रकाशित मिति: Nov 10, 2021

प्रतिक्रिया दिनुहोस्