Logo
८ जेष्ठ २०८१, मंगलबार
(November 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न नारायणकाजी श्रेष्ठको आग्रह

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा गर्न नहुने बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन राजदूत नियुक्ति गरिसकेको भन्दै उनले बाँकी राजदूत नियुक्तिमा भागबन्डा नगर्न आग्रह गरेका छन्।

राजदूत नियुक्तिमा भागबन्डाभन्दा छुट्टै साझा सूची बनाउन उनले प्रस्ताव अगाडि सारेका छन्।आज सामाजिक सञ्जाल फसबुकमार्फत भनेका छन्,‘अब छिट्टै राजदूतहरुको नियुक्ति प्रकृया अघि बढ्ने होला। यद्यपि प्रधानमन्त्रीले ३ जनाको नियुक्ति गरिसक्नुभयो। अब बाँकी राजदूतहरु नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ-कम्तिमा पनि केही संख्या पार्टीहरुको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाऔं। अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान ब्यक्तिहरुले राष्ट्र सेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ। त्यो देश र ब्यक्ति दुबैका लागि अन्याय हुन्छ’।

उनले स्वार्थजन्य यथास्थितीवादी परम्परा तोड्ने प्रयास गरिनुपर्नेसमेत उल्लेख गरेका छन्।अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूतलाई यो सरकारले फिर्ता बोलाउने निर्णय गरेकोमा पनि उनले असन्तुष्टि जनाएका छन्।

उनले भनेका छन् ‘त्यस्तै एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदुतहरु फिर्ता बोलाउने सकारको निर्णय लाई बेठीक भन्दै असहमति जनाएको थिएं ।मेरो धारणा यस्तो थियो र रहेको छ।संविधान ,कानून र लोकतान्त्रिक मुल्यमान्यता बिपरित नियुक्ति गरिएका , असक्षम र ब्यबहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदुतहरुलाई मात्र फिर्ता बोलाउनु पर्दछ ,सबैलाई एकमुष्टरुपमा होइन । यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदुतहरु फिर्ता बोलाउने परम्परा बन्छ।त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदुतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको कारण संबन्धित देशहरुमा काम गर्ने वातावरण बन्दैन।शिर्षस्थ नेताहरुले यो कुरा ठीकै भएपनि निर्णय भैसकेकाले अव छलफल नगरौं भन्नुभयो र त्यो कुरा सकियो।’ ।

साथै उनले गठबन्धन बैठकमा आफूलाई नियमित नबोलाइएकोमा पनि असन्तुष्टि जनाएका छन्।

‘प्रतिगमन बिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो। अनिवार्यजस्तै थियो सहभागिता,’ उनले भनेका छन्, ‘संघर्षको सफलतापछि पार्टीहरुको गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरुमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु।’

प्रकाशित मिति: Nov 7, 2021

प्रतिक्रिया दिनुहोस्