Logo
६ जेष्ठ २०८१, आईतबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरियामा जाडोमा तत्कालै मानवीय सहायताको खाँचो छ : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप मानवीय सहायताको खाँचो रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताउँछन् ।

सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसङ्घले यसअघि नै जनाएको थियो ।

सिरियाको उत्तरपश्चिमी क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले बताए ।

उनले जाडो याममा यहाँका थप नागरिक सङ्कटमा पर्न सक्ने भन्दै मानवीय सहायताको खाँचो रहेको बताए ।यसअघि संयुक्त राष्ट्रसंघले सिरियाको उत्तर पश्चिम क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ ।

मानवीय सहायता प्रमुख गिरिफिथले यहाँ एक करोडभन्दा बढी मानिसमा यस्तो सहायता चाहिएको बताए । ती नागरिकहरु सिरियामा करिब एक दशकको समयमा द्वन्द्वको चपेटामा परेका छन् ।

सिरियामा अहिले आर्थिक सङ्कट थपिएकोले यहाँका नागरिकहरु खाना र बासकै समस्यामा परेका बताइएको छ । ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पुर्‍याउन सकिरहेको छैन ।

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ । जसका कारण यहाँका लाखौँ नागरिक हिंसाको चपेटमा परेका छन् ।

यहाँका लाखौँ नागरिक विस्थापित हुन पुगेका छन् भने चार लाख भन्दा बढी नागरिकले गृहयुद्धमा परेर ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्