प्रधानन्यायाधीश जबराले तोके संवैधानिकसहित ११ इजलास
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सर्वोच्च अदालतमा ११ इजलास तोकेका छन् ।
जबराले आफ्नै नेतृत्वमा संवैधानिक इजलास पनि तोकेका छन् । जसमा वरिष्ठताका आधारमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् ।
संवैधानिक इजलासमा एउटा मात्रै मुद्दा पेसीमा राखिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमालसमेतले दायर गरेको रिट निवेदन संवैधानिक इजलासको पेसीमा छ ।
सर्वोच्च अदालतमा तीन दिनयता न्यायाधीशहरू इजलासमा गएका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नै गएनन् । बरु उनीहरूले प्रधानन्यायाधीशलाई भेटेर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।
सरकारमा भाग खोजेको, सहकर्मी न्यायाधीश समेतको विश्वास जित्न नसकेको, न्यायालयको गरिमामा आँच आउने काम गरेको लगायतका रोप लगाएर न्यायाधीश र कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन भनिरहेका छन् ।तर प्रधानन्यायाधीश भने आफूले राजीनामा नदिने अडान लिँदै आएका छन् ।