विवादको कारण सर्वोच्चमा कानून व्यवसायीले रोके बहस, आज पनि न्यायाधीशहरू छलफलमा
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशे चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने माग गर्ने पक्षका कानुन व्यवसायीहरुले आज बहस नगर्ने भएका छन् । नेपाल बार एसोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो ।
एसोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले बुधबारदेखि आफूहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए ।‘हामीले सर्वोच्च अदालतमा आजबाट बहस गर्दैनौं,’ अधिकारीले भने, ‘प्रधानन्यायाधीश जबराले एक-दुईमा राजीनामा नदिए देशभर चरणबद्ध आन्दोलन गर्छौँ ।’
त्यसो त प्रधानन्यायाधीश जबराविरुद्ध उभिएका सर्वोच्चका न्यायाधीशहरूले लगातार दुई दिन मुद्दा नहेरेपछि न्यायनिरुपणको काम नै रोकिएको छ । आज बिहान ११ बजे उनीहरू छलफलमा जुट्दै छन् ।
सरकारमा भाग खोजेको, सहकर्मी न्यायाधीश समेतको विश्वास जित्न नसकेको, न्यायालयको गरिमामा आँच आउने काम गरेको लगायतका आरोप प्रधानन्यायाधीश जबरामाथी लागेको छ ।
राजीनामा दिनुपर्ने दबाबमा परे पनि प्रधानन्यायाधीश जबराले भने कसैले राजीनामा माग्दैमा नदिने बताएका छन् । आफूले राजीनामा दिनुपर्ने भए विवादमा परेका अन्य न्यायाधीशहरूले पनि राजीनामा दिनुपर्ने उनको धारणा रहेको छ ।
यसअघि सर्वोच्चका सहकर्मी न्यायाधीशहरूले नै उनलाई राजीनामा दिन सुझाउँदै उनले तोकिदिएको इजलासमा नबस्ने निर्णय गरेका थिए । यसै गरी नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन र पूर्व न्यायाधीशहरुले पनि उनको राजीनामा माग गरेका छन् ।