महिला फुटबलमा गोदावरीको पहिलो जीत
उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा गोदावरी नगरपालिकाले पहिलो जीत दर्ता गराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा महालक्ष्मी नगरपालिकालाई ५-३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित दर्ता गराएको हो ।
गोदावरीको जीतमा दावा डोल्मा लामा र एस्थर तामाङले दुई÷दुई गोल गरिन् भने यान्जोम रोकायाको नाममा एक गोल रह्यो ।
महालक्ष्मीकी कप्तान सरु राईले दुई र पूजा लामाले एक गोल गरिन् । जीतसँगै गोदावरीले तीन खेलमा तीन अङ्क जोड्यो । महालक्ष्मीको यो लगातार तेस्रो हार हो । समूह ए मा रहेका दुवै टोली बाहिरिसकेका छन् ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको थियो ।
प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगिताको विजेता टोलीले पाँच लाख तथा उपविजेताले तीन लाख पाउनेछन् ।