Logo
११ बैशाख २०८१, मंगलबार
(October 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीलाई कोब्राले टोकाएर हत्या गरेपछि…!

भारतमा आफ्नी श्रीमतीको सर्पले टोकाएर हत्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरो आजीवन कारावासको सजाय तोकेको छ ।

२८ वर्षका सुरज कुमारले आफ्नी श्रीमती उत्तरालाई अति विषालु सर्पले टोकाएका थिए । न्यायाधीशहरुले यस अपराधलाई ‘दुर्लभमध्येको दुर्लभ अपराध’ भनेर चित्रण गरेका छन् ।

सुरजले पहिले उत्तरा भए ठाउँ अति विषालु सर्प रसल्स भाइपर राखिदिएका थिए, जसको टोकाइको कारण झन्डै दुई महिनासम्म उत्तराले अस्पतालमा बिताउनुपर्‍यो ।

बल्ल निको भएर उनी माइतीघरमा आराम गर्दै थिइन् । यही बेला सुरजले सर्प पाल्ने एक व्यक्तिमार्फत कोब्रा सर्प मगाए । त्यसपछि सुतिरहेकी श्रीमतीमाथि उक्त कोब्रा फाले ।

कोब्राले टोकेपछि मे २०२० मा २५ वर्षीया यी महिलाको मृत्यु भयो । यही अभियोगमा केरलाको कोल्लाम जिल्लास्थित अदालतले सुरजलाई सोमबार दोषी ठहर गरेको हो ।

उत्तराका आमा–बाबुले नै ज्वाइँप्रति शंका व्यक्त गरेपछि गत वर्ष हत्या आरोपमा प्रहरीले सुरजलाई उनकै घरबाट पक्राउ गरेको थियो । आफ्नी छोरीलाई थप दाईजोका लागि यातना दिएको बाबुआमाको आरोप थियो ।

बाबुआमाका अनुसार सुरजले श्रीमतीको हत्या गरेर उनको सम्पत्तिमाथि कब्जा जमाउन खोजेका थिए ।सुरजले हत्या आरोपमा आफ्नो संलग्नता नरहेको बताएका थिए ।

तर फोन रेकर्ड हेर्दा उनी सर्प पाल्ने व्यक्तिसँग सम्पर्कमा रहेको र हत्याअघि धेरै पटक इन्टरनेटमा उनले सर्प सम्बन्धी भिडियोहरू हेरेको प्रहरी छानबिनका क्रममा भेटिएको छ ।

कोब्राले श्रीमतीलाई टोकेपछि पनि सुरज उनीसँगै कोठामा थिए । तर, अर्को दिन उनी नियमित काममा गएका थिए । ‘यो हत्या सुनियोजित देखिन्छ । यो अति दुर्लभ प्रकरण हो,’ मृत्युदण्डको सजाय माग गरेका एक अभिवक्ताले भने ।

उत्तराको माइती निकै सम्पन्न परिवार हो । उनका श्रीमान् भने बैंकमा सामान्य काम गर्दथे । उनीहरू विवाहमा ठुलो दाइजो दिइएको थियो । जसमा एउटा कार र ५ लाख भारु समावेश छ ।

मिडिया रिपोर्टस्अनुसार उत्तराको हत्यापछि उनीका केही सुनका गहनाहरू सुरजको घर नजिकै गाडिएको अवस्थामा भेटिएको थियो । जस कारण, सुरजको परिवारमाथि शंका अझै बढ्यो ।

प्रकाशित मिति: Oct 16, 2021

प्रतिक्रिया दिनुहोस्