Logo
१२ बैशाख २०८१, बुधबार
(September 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन हुन्छ सप्नादोष ? समाधानको लागि यस्ता छन् उपायहरु !

निदाइरहेको बेलामा यौनसम्बन्धी सपना देख्नु स्वाभाविक प्रक्रिया नै हो। त्यसो त यौन सपनाको क्रममा स्वप्नदोष हुनसक्ने भए पनि दुवै फरक-फरक कुरा हुन्।

सधैँजसो र सबैको स्वप्नदोष हुनै पर्दछ भन्ने छैन।कतिपय बेलामा अर्ध चेतन अवस्थामा लिंग उत्तेजना मात्र पनि हुनसक्छ।

बैँस पुगेपछि करिब ५० प्रतिशत व्यक्तिले एक न एक पटक यौन सपना देखिसकेको हुन्छ। किशोरावस्थामा बढ्ता देखिने यौन सपना तथा स्वप्नदोषको घटना व्यक्तिअनुसार फरक-फरक हुनसक्छ।

पुरुषका साथै महिलाले पनि यौनसम्बन्धी सपना देख्छन्। यस क्रममा योनिस्राव अत्यधिक हुने तथा यौन सन्तुष्टि प्राप्त हुने हुन्छ। यौन सपनाको क्रममा कतिपयलाई वास्तवमै यौन कार्यमा संलग्न भइरहेको अनुभूति हुन्छ। यस्तो बेला यौन कार्यमा संलग्न यौन साथी परिचित वा अपरिचित दुवै हुनसक्छ।

संकुचित भावना तथा हस्त मैथुनप्रतिको नकारात्मक दृष्टिले पनि यौन चाहना दबाउने गरिन्छ। यसैबेला शरीरभित्रै विकसित भइरहेको यौन अवस्थाले विकल्प खोज्छ।

यस क्रममा धेरैले हस्त मैथुन गरेर आफ्नो यौन भोक शान्त पार्छन् भने कतिपयमा यौन सपनासँगै वीर्य स्खलन वा योनिस्राव भई यौन तनाव शान्त हुन्छ। कतिपयले यौन सपनासँगै स्खलित हुनै लाग्दा थाहा पाउँछ भने कतिपयले स्खलित भएपछि मात्र आफूले यौन सपना देखिरहेको वास्तविकता थाहा पाउँछ।

त्यसो त यौन सपना स्वाभाविक प्रक्रिया हो। हस्त मैथुन गर्ने बानी तथा विवाहपश्चात् नियमित सेक्सका कारण यौन सपना कम हुँदै जान्छन्। विभिन्न अध्ययनबाट शरीरमा टेस्टोस्टेरोनको मात्रासँग यौन सम्बन्ध देखिने गर्छ। सपना हिँड्ने बानी जस्तै वास्तवमै सपनामै यौन सम्पर्क स्थापित गर्ने, यौन क्रियाकलाप गर्ने विरलै देखिन्छ।

उमेरसँगै यौन विकासको एउटा चिन्हको रूपमा रहेको यौन सपना सबैले देख्नै पर्छ भन्ने छैन। यसले दमित यौन तनाव घटाउन मद्दत गर्ने हुनाले यौन दुव्र्यवहार, यौन हिंसा जस्ता घटना पनि कम हुन्छन्।

प्रजनन प्रणाली राम्ररी विकसित भएको अवस्थामा यस्ता सपना बारम्बार देखिन सक्छन्। कसैले चाहँदैमा यौन सपना देखिने होइन।

स्वप्नदोष
स्वप्नदोष अर्थात् विशेषतः केटाले निद्रामा कुनै केटीसँग यौनजन्य कार्य गरेको सपना देखी वीर्य स्खलन हुने हुन्छ। केटीहरूमा रजस्वला जस्तै केटाहरूमा यो यौन क्षमता विकासको चिन्ह पनि हो। सपनाको दोष अर्थात् स्वप्नदोष गलत नामाकरण हो। किशोरावस्था पुगेपछि देखापर्ने यौनसम्बन्धी यस समस्यालाई चलनचल्तीमा स्वप्नदोष भन्ने गरिएको छ।

यौन उत्तेजनासँग सम्बन्धित यो समस्या अचेतन मनको यौन परिकल्पनाको उपज पनि हो। केटाहरू १३–१४ वर्ष लागेदेखि यौन ग्रन्थि र यौनांग सक्रिय हुन थाल्छन्।

किशोरीहरूप्रति आकर्षित हुन थाल्छन्।रगतबाट वीर्य बन्ने र वीर्य स्खलनबाट शक्ति क्षय हुने भ्रम भएकाले स्वप्नदोषका क्रममा हुने वीर्य स्खलन (वीर्य खति) कुनै गम्भीर रोग हो कि भनेर चिन्ता गर्नेको कमी छैन। त्यसो त किशोरावस्था पुगेपछि वीर्य निर्माण निरन्तर रूपमा हुन थाल्छ।

यसरी निर्मित तथा संकलित वीर्य बाहिरिने प्रक्रिया हो, स्वप्नदोष। कुनै कारणवश पर्याप्त मात्रामा यौन सम्पर्क भएन भने हस्त मैथुनको क्रममा जस्तै विकल्पका रूपमा स्वप्नदोष हुनसक्छ।

अविवाहितको दाँजोमा कम नै भए पनि लामो समयसम्म यौन सम्बन्ध राख्न नपाएका विवाहित पुरुषमा पनि स्वप्नदोष हुनसक्छ।

सपनामै सही तरिकाले यौन उत्तेजना बढेमा स्वप्नदोष हुनसक्छ। स्वप्नदोषको समस्या व्यक्ति विशेषको शारीरिक अवस्था, मानसिकता, पोषण, वातावरण, पारिवारिक एवं सामाजिक स्थिति, दिनचर्यामा निर्भर हुनसक्छ। हप्ता दिनमा एक पटकजसो स्वप्नदोष स्वाभाविक भए पनि प्रत्येक रात वा पटक–पटक हुन थालेमा घटाउने प्रयास गर्नुपर्छ।

स्वप्नदोषको समस्या घटाउन तथा हटाउन केटीप्रति यौन आकर्षण घटाउनुपर्छ। विशेषतः सुत्नुअघि यौन परिकल्पना गर्ने, यौन साहित्य पढ्ने तथा यौन सामग्री हेर्नु हुँदैन।

यौन उत्तेजना बढाउने वस्तु तथा क्रियाकलापबाट टाढा रहनुपर्छ। माछा, मासु, घीउ, अण्डा, अमिलो, पिरो, चिया, कफी, मदिराको सेवन कम गर्नुपर्छ। त्यसको साटो हरियो सागपात, दही, मही, पानीको सेवन बढी गर्नुपर्छ।

यौन सपना देख्ने बानी घटाउन यौन परिकल्पना नगर्ने, यौन सामग्री अत्यधिक नहेर्ने, नपढ्ने, सुत्नुअगाडि पिसाब फेरेर तथा हातखुट्टा राम्ररी धोएर सुत्ने तथा मन शान्त पारेर सुत्नुपर्छ।

यसलाई स्वाभाविक प्रक्रिया ठानी स्खलित हुनै लाग्दा वा भएपछि यौनांगको सरसफाइमा ध्यान दिनुपर्छ। यस क्रममा भित्री कपडा फेर्ने, तन्ना वा सिरकको खोलको सरसफाइ पनि गर्नुपर्छ। उपयुक्त परामर्शको अभावमा चिन्ताग्रस्त हुनसक्ने भएकोले मनोपरामर्शको आवश्यकता पर्न सक्छ।

यसका साथै स्वप्नदोषको समस्या भएका व्यक्तिले सुत्नुअघि हातखुट्टा चिसो पानीले धुने, छिटो सुत्ने तथा बिहानै उठेर व्यायाम गर्ने, दिनहुँ नुहाउने गर्नुपर्छ।

सुत्ने कोठाबाट उत्तेजक तस्बिर हटाउने तथा रातिको समय लिंग खेलाउने बानी हटाउनुपर्छ। यौनको मामिलामा अनुशासित हुनुपर्छ।

काम, पढाइ, खेलकुदमा ध्यान केन्द्रित गर्नुपर्छ। यौनांग थिचिने तथा उन्मुक्त हुने कारण घोप्टो वा उत्तानो परेर सुत्नु हुँदैन। यदि कहिलेकाहीँ स्वप्नदोष भइहाल्यो भने लिंगको सरसफाइ गर्नुपर्छ।

प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि उत्पादित वीर्यले आफ्नो निकास खोज्न थाल्छ। १५ वर्षको उमेरसम्म ५० प्रतिशत युवाले स्वप्नदोषको अनुभव सँगाल्दछन्।

यो कुनै गम्भीर यौन समस्या नभई एक प्राकृतिक एवं स्वाभाविक प्रक्रिया हो। तर, उचित जानकारीको अभावमा कतिपय युवा गहिरो चिन्तामा पर्छन्। स्वप्नदोष पटक-पटक दोहोरिन सक्छ। यससम्बन्धी भ्रम निवारण गरी घटाउने उपायतर्फ लाग्नु राम्रो हुनेछ।एजेन्सी

प्रकाशित मिति: Sep 24, 2021

प्रतिक्रिया दिनुहोस्