Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्षम नेताहरूले संविधानलाई कागजको खोस्टो परिणत गरेको रामचन्द्रको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नालायक र अक्षम नेताहरूले संविधानलाई कागजको खोस्टो बनाएको आरोप लगाएका छनु ।

संविधानजस्तो संवेदनशील कुरालाई सस्तो राजनीतिक नारावाजी र वितण्डाको विषय बनाइनु नेतृत्वको नालायकी र अक्षमताको नमुना भएको उनको जिकिर छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान कुरा गर्दै नेता पौडेलले भने, ‘७० वर्षदेखि जनताको संघर्ष र बलिदान गरेर आएको संविधानको कार्यान्वयनमा नेताहरु चुकेका छन् । नेताहरु सर्वसत्तावादी सोचबाट अनुप्राणित भए । सत्तालाई आफ्नो पेवा बनाउनेबाहेक जनताको दुःख, गरिबी र अविकासमा ध्यान दिएनन् । संविधानले सबैलाई अधिकार दिएको छ, तर जिम्मेवारीमा पुग्नेहरु इमानदार नहुँदा संविधानमाथि नै आक्रमण भइरहेको छ । त्यसैले जनमतको दबाबबाटै संविधानको रक्षा गर्नुपर्छ । यही व्यवस्था अन्तर्गत जनताले आर्थिक उन्नति गर्न पाउनुपर्छ ।

उनले भने, ‘संविधानले समावेशी लोकतन्त्र, समाजवाद उन्मुख लोकतन्त्रलाई साकार पारेको छ । संविधानको कार्यान्वयनमा इमानदारी नदेखाउने, कर्तव्य निर्वाहतिर नलाग्ने अनि सधैंभरि राजनीतिक नारावाजी र वितण्डा मच्चाइरहने रु संविधान फेर्ने कुरा सस्तो नारामात्र हो । यो नेताहरुको नालायकी र असक्षमताको नमुना हो । अस्थिरता र बारम्बारको प्रयोग नेपाली जनताले धान्न सक्दैनन् ।’

यो संविधानलाई बचाएर नै समतामुलक, सम्पन्न नेपाल बनाउन सक्ने दाबी गर्दै नेता पौडेलले संविधानलाई नेताहरुले नै कागजको खोस्टोमा परिणत गरेको आरोप गरे ।संविधानको पुनरावलोकन गर्ने बेला भयो भन्नु भ्रम भएको उनको धारणा छ ।

उनले थपे, ‘मधेसी जनताको कुन कुन माग पूरा भएका छैनन्, जायज मागलाई पूरा गरौं । जनताले पाएका अधिकारलाई सुरक्षित राख्दै अघि बढौं । तर यसको विकल्प खोज्ने कुरा कुनै पनि हालतमा स्वीकार्य छैन । अति महत्वाकांक्षी नेताका कारण जनताले दुःख पाएका छन् । अब जनताले नै योग्य नेता खोज्नुपर्छ ।’

उनले कांग्रेसलाई नेपाली जनताको भरोसालायक कांग्रेस बनाउन चाहेको पनि बताए । उनले भने, ‘अहिले देश बन्धक बनेको छ । अनिर्णयको बन्दी भएको छ । हामी महाधिवेशनमार्फन कांग्रेसलाई नेपाली जनताको भरोसालायक पार्टी बनाउन लागेका छौं । अब पनि नेतृत्व परिवर्तन भएन भने देशको भविष्य बन्दैन ।’रिपोर्टर्स नेपाल

 

प्रकाशित मिति: Sep 19, 2021

प्रतिक्रिया दिनुहोस्