Logo
२७ बैशाख २०८१, बिहीबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड-माधव स-साना झुण्ड बोकेर कांग्रेसतिर लागेको पौडेलको आरोप

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालले पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड-माधव स-साना झुण्ड बोकेर कांग्रेसतिर लागेको आरोप लगाएका छन् ।

एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमालेको विभाजनप्रति चिन्ता लिन जरुरी नभएको बताए ।

पौडेलले भने, ‘उनीहरू पार्टी फुटाएर सत्तामा जान खोजे । एमालेमा डेढ दशक मुख्य नेतृत्व गरेका र प्रधानमन्त्री भएका माधव नेपालले प्रचण्डको साथ लिएर पार्टी कब्जा गर्न खोजे । उनीहरु नसकेपछि आफैं बाहिरिएका छन्, यसले केही असर गर्दैन ।’

पार्टी विभाजनमा कुनै सैद्धान्तिक वैचारिक कारण नभएको पौडेलको दावी छ । ‘२०७४ सालको एमाले विभाजन बरु सिद्धान्तमा आधारित थियो, महाकाली सन्धि लगायत राष्ट्रियताका मुद्दाहरु थिए’ पौडेलले भने, ‘तर अहिले कुनै एजेण्डाका आधारमा विभाजन भएको छैन ।’

नेता पौडेलले दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्ने सरकारले अरु केही गर्न नसक्ने दावी गरे ।गत फागुनमा सर्वोच्चको फैसलापछि तत्कालीन नेकपालाई पुन एकतावद्ध बनाउन खोजेपनि प्रचण्ड, माधव नेपालहरु कांग्रेसको पछि लाग्न तयार भएकाले पार्टी विभाजन भएको पौडेलको जिकिर छ ।

‘जसरी पनि सत्तामा पुग्ने महात्वाकांक्षाले प्रचण्डले माधव नेपालहरु जस्ता स्वार्थी तत्वको साथ लिएर पार्टी कब्जा गर्ने कोशिस गर्दा नेकपामा विभाजन भएको हो’ पौडेलले भने । एमालेको ताकत चुनावमा देखाउने र फेरि पनि पहिलो पार्टी बन्ने उनले दावी गरे ।

उनले नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन सुझाव दिए ।

एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड माधव र कांग्रेसमा नरहेको भन्दै उनले सबै मिलेर बनेको गठबन्धनलाई परास्त गरिने र माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने दावी गरे ।

रुपन्देहीबाटै निर्वाचित नेता पौडेलले अघिल्लो स्थानीय चुनावमा कांग्रेस र माआवादी मिलेर लड्दा पनि एमालेले जितेको भन्दै आउने चुनावमा ५ वटै निर्वाचन क्षेत्र र १६ वटा स्थानीय तहमा जिताउनेगरि लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्