Logo
१३ बैशाख २०८१, बिहीबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतन्त्रमाथिको खतरा अझै अन्त्य नभएकाले मैदानबाटै लडिरहन्छु : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने बताएका छन् ।

कांग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आज चाबहिलमा आयोजना गरेको १४ औँ महाधिवेशनमा नीति र नेतृत्व विषयक विचार विशेष कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । साथै उनले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव गर्दा लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने वचन दिएको जानकारी गराएका हुन् ।

पौडेलले भने,  ‘नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, मैले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पछिल्लो आन्दोलन गृह जिल्ला तनहुँस्थित दमौली पुलबाट शुरु गरेको छु, लोकतान्त्रीकरण नभएसम्म यो अभियान जारी रहन्छ’ ।

कमजोर पार्टीको बलियो नेता भए तानाशाह जन्मने भएकाले यसमा कार्यकर्ता पनि चनाखो हुनुपर्नेमा नेता पौडेलको जोड थियो ।

पार्टीलाई अझै लोकतान्त्रीकरण गर्ने अभियानमा आफू लागेको उल्लेख गर्दै उपौडेलले आन्तरिक लोकतन्त्र फस्टाउन कमजोर पार्टीको बलियो नेता हुने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए ।

‘पार्टीको १४ औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको छ, दादागिरी गरेर निष्ठावान् कार्यकर्तालाई पन्छाउन खोजिएको छ, डडेल्धुरामा पार्टी जिल्ला समितिलाई एकातिर राखेर प्रहरी प्रशासनको बलमा वडा अधिवेशन गरिएको छ, यो पार्टीका लागि दुर्भाग्य नबनोस्’, उनले भने ।

आगामी महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गरेर रुपान्तरण गर्न नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने नेता पौडेलले बताए । कार्यक्रममा सिन्धुपाल्चोक कांग्रेसका उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, नेता देवप्रसाद बानियाँलगायतले पार्टीको लोकतान्त्रीकरण गर्न १४ औँ महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्