१४ औं महाधिवेशनलाई गुट र गिरोह समाप्त गर्ने उत्सवका रुपमा लिन डा.कोइरालाको अपिल
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १४ औं महाधिवेशनलाई गुट र गिरोह समाप्त गर्ने उत्सवका रुपमा लिन अपिल गरेका छन् ।
डा. कोइरालाले आज अपिल जारी गर्दै १४ औं माहधिवेसनलाई उत्वसका साथै ‘गुट र गिरोह’ समाप्त गर्ने अवसरका रुपमा लिन अपिल गरेका हुन् ।
त्यस्तै उनले चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा सबैलाई गम्भीरतापूर्वक मनन् गर्न पनि आग्रह गरेका छन् । डा. कोइरालाले महाधिवेशन किन समयमा हुन नसकेको भन्दै प्रश्न समेत गरेका छन् ।
कोइरालाले महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको बताए ।
आज अपिल जारीमा भनिएको छ, ‘कांग्रेसको महाधिवेशन किन समयमा हुन सकेन?,म कसैलाई दोष दिन चाहन्न । यतिमात्र भन्छु कांग्रेसको महाधिवेशन विधान र संविधान भन्दा बाहिर गएर हुने परिस्थिति भविष्यमा आउन नदिने जिम्मेवारी अब हामी सवैको हो, कांग्रेसजनको हो ।’
स्वस्थ र शालिन प्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत उचाइमा पुग्ने उनको भनाइ छ। विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन नसकेका कारण आम निर्वाचनमा कम्युनिष्ट भन्दा कमजोर भएको डा. कोइरालाद्वारा जारी गरिएको अपिलमा उल्लेख छ ।
पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दा माथि राख्न सक्दा नेपाली कांग्रेसको महाधिवेशन उदाहरणीय बन्न सक्ने डा. कोइरालले सुझाव दिएका छन् ।
त्यस्तै उनले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउन सबैलाई आग्रह गरे ।