भारतीय एसएसबीको संलग्नतामा दार्चुला तुइन घटना भएको छानबिन समितिको निष्कर्ष
तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल एसएसबीको उपस्थितिमा दार्चुला तुइन घटना भएको सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले निष्कर्ष निकालेको छ ।
मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ ।मंगलबार गृह मन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकाली दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको भन्दै यससम्बन्धी संक्षिप्त जानकारी विवरण दिइएको हो ।
सरकारले यस घटनामा छानबिन गर्न साउन १७ गते सहसचिव गौतमको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षका जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको खोजी भइरहे पनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।
तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल ९एसएसबी०ले लट्टा खुस्काइदिएपछि’ बेपत्ता भएका स्थानीयको भनाइ छ ।
सरकारले समितिको प्रतिवेदन नआउँदै परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरिसकेको छ । प्रतिवेदन नै नआई क्षतिपूर्ति दिएर घटना सामसुम बनाउन खोजिएको भन्दै सरकारी निर्णयको आलोचना पनि उत्तिकै भइरहेको छ ।