Logo
५ जेष्ठ २०८१, शनिबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाममोर्चा बनाएर एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नुस् : युवराज ज्ञवाली

नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक युवराज ज्ञवालीले  माधव नेपाल अहिले आफूले आफूलाई सिध्याउने दिशामा लागेको बताएका छन् । साथै उनले वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह समेत गरेका छन् ।

सुर्खेतमा आज मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने,’आफूले आफूलाई सिध्याउने दिशामा लाग्नु भएको छ । एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नुस् ।’

ज्ञवालीले नेपाललाई चुनौती दिँदै अघि थपे, ‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईँहरूले जित्नुहुन्न ।’

माधव नेपालले पार्टी फुटाएर ठुलो गल्ती गरेको भन्दै उनले कुनै दिन उनले त्यो महसुस गर्ने समेत बताए । ‘माधव नेपालले पार्टी फुटाएर ठुलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नु हुन्छ,’ संयोजक ज्ञवालीले नेपाललाई प्रश्न गरे, ‘एमालेको एजेन्डा र विचार लिएर उहाँ कहाँ पुग्नु हुन्छ ? हिजोको गल्तीको कारण बनाएर आज पार्टी विभाजन गर्न मिल्छ?’

विगतमा नेपाल निकट मानिएका नेता ज्ञवालीले आफूहरुले एक महिनासम्म पार्टी फुटाउनु हुन्न अन्तर संघर्ष गरौं भनेर सम्झाउँदा पनि नमानेपछि साथ छोड्नु परेको बताए ।

संयोजक ज्ञवालीले नेपाल सहितको एकताको प्रयास गरे पनि असफल भएको पनि बताए । पार्टी एकताका लागि अन्तिम चरणसम्म प्रयास गरे पनि माधव नेपाल कुनै पनि हालतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएर बस्न नसक्ने निर्णयमा पुगेपछि आफूहरुले नेपालको साथ छोडेर १० बुँदे कार्यान्वयनमा लागेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन अनुसार १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न नेता ज्ञवाली कर्णाली प्रदेशमा छन् ।

 

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्