लमजुङमा घर आगलागी हुँदा एक दम्पतीको मृत्यु
गण्डकी प्रदेश स्थित लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ ।
घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गए राति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवलदार उत्तम गुरुङले बताए।
उनले भने, ‘आगलागीका कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०र१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएको थिए ।’
ढुङ्गामाटाको गाह्रो र जस्तापाताको छानो भएको भन्सार जस्तो एक तले घर सबै जलेर नष्ट भएको छ । घरभित्र रहेको केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढा टाढा छन् ।
प्रहरीलाई ढिलो खबर भएको र ढिलो पुगेकाले घटना घटी सकेको प्रहरीले जनाएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भई नसकेको प्रहरी हवलदार गुरुङको भनाइ छ ।
पेसाले धर्मराज पूर्व गोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।