Logo
५ जेष्ठ २०८१, शनिबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाईसीएल नेतृत्वमा सहमति नभएपछि प्रचण्डले टुंग्याए पदाधिकारी

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलको दुई दिने सम्मेलनमा सहमतिमै नेतृत्व चयन असफल भएपछि प्रचण्डले पदाधिकारी टुंगो लगाएका छन् ।

सहमति नजुटेपछि पदाधिकारीको टुंगो पार्टी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले लगाएका हुन्  । तर, कसलाई अघि सारे भन्ने खुलेको छैन ।

सहमतिमा टुंग्याउन अधिकतम कोसिस गर्ने भन्दै हिजोको सम्मेलन स्थगित गरिएको थियो । तर, सहमतिको प्रयास असफल भएको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए।

‘सहमतिमै टुंग्याउने प्रयास सफल हुन सकेन,’ ओलीले भने, ‘अध्यक्ष प्रचण्डले त्यसलाई टुंग्याउनु हुन्छ । लगभग उहाँले टुंग्याउनु भएको छ।’ सबै जिल्लाबाट केन्द्रीय सदस्यको प्रतिनिधित्व हुने गरी प्रदेशहरूले सूची पठाएपछि आजै पदाधिकारीसहितको कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन टुंगिने ओलीले बताए।

शनिबारदेखि जारी सम्मेलन हिजै सकिनु पर्नेमा नेतृत्वमा दावेदार रहेकाहरू सहमतिमा नआउँदा सम्मेलन लम्बिएको हो ।

हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । वाईसीएल अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् ।

२०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्