रोकेर राखेको बसभित्र सहचालकको हत्या गरेर भागेको आरोपमा एक किशोर पक्राउ
काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह-चालकको हत्या आरोपमा एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या आरोपीलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले चितवनको पोखरा बसपार्कबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
सह-चालकको हत्या गरेर भागेको आरोपमा पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-घर भएका १८ वर्षीय सुरेश परियार छन् ।
२०७८ साउन २८ मा साँझ साढे ६ बजे रोकिराखेको बा.४ख ४२१ नम्बरको बसमा १९ वर्षीय रमेश खत्रीको हत्या गरिएको थियो । मृतक चक्रपथ परिक्रमा गर्ने सोही बसका सहचालक हुन् ।
सिन्धुपाल्चोकको चौतारा घर भएका खत्रीलाई सुरेशले ढुंगाले हिर्काएर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
ज्याकेट भित्र ढुंगा बेरेर हिर्काएर उनले हत्या गरेका थिए । हत्यापछि मृतकको कपडा र मोवाइल बोकेर उनि फरार भएका थिए ।
उनलाई ज्यान सम्बन्धि कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।