Logo
५ जेष्ठ २०८१, शनिबार
(August 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी सम्झौता तत्कालै खारेज नगरे आन्दोलन चर्काउने चेतावनी

युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ ।

एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ ।

सरकारले आफ्ना माग पूरा नगरे सशक्त संघर्ष चेतावनी सो अभियानले दिएको छ ।

अभियानले अघि सारेका मागमा विद्युत विद्येयक फिर्ता गरी विद्युत प्राधिकरणको निजीकरणका सम्पूर्ण प्रक्रियालाई बन्द गर्नुपर्ने लगायतका छन् । यस्तै विद्युत आयोग खारेज गर्दै प्राधिकरणलाई अधिकार सम्पन्न बनाउनुपर्ने समेत माग गरिएको छ ।

यीबाहेक प्राधिकरणमा हुने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, विद्युत विकासका लागि पर्यावरणमैत्री र जनमुखी कार्यक्रम ल्याउनुपर्ने, जलविद्युत उत्पादनमा राष्ट्रिय पूँजीपति तथा सर्वसाधारण नेपाली जनताको स्वामित्व स्थापना गर्ने नीति अख्तियार गर्नुपर्ने माग राखिएको छ ।

अभियान संयोजक निर्ग नविनले एमसीसी सम्झौताबारे सबै कुरा स्पष्ट भएको भन्दै खारेज नभएसम्म आफूहरूको अभियान जारी रहने बताए । उनले भने, ‘एमसीसी सम्झौता गर्नको लागि कुन–कुन पार्टीका कुन कुन नेता कसरी सहभागी भए भन्ने छर्लङै छ । यो एमसीसी नेपालको गलपासो बनाउनको लागि, को को कति जिम्मेवार भए, यो पनि सबैलाई थाहा भएको कुरा हो ।’

उनले आफूहरु राष्ट्रिय स्वाधिनताको आन्दोलनमा रहेको पनि बताए । उनले एमसीसी संसदबाट पारित भए देशले ठूलो मूल्य चुकाउनुपर्ने खतरा रहेको दाबी गरे ।

प्रकाशित मिति: Aug 29, 2021

प्रतिक्रिया दिनुहोस्