शान्ति मिसन परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरण : ३ जनालाई बर्खास्त, ११लाई कारबाहीको सिफारिस
राष्ट्रसंघीय शान्ति मिसनका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरण छानविन गर्न गठित समितिले प्रतिबेदन बुझाएको छ ।
उक्त छानविन गर्न गठित समितिले प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षत्रीलाई आज बिहान प्रतिबेदन बुझाएको हो ।डिआईजी वसन्त लामाको संयोजकत्वमा गठित समितिले तीन जनालाई बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता बसन्त कुँवरले जानकारी दिए ।
यस्तै समितिले अन्य ११ जनालाई बिभागीय कारबाही गर्न पनि सिफारिस गरेको छ ।बर्खास्तीमा पर्नेहरुमा प्रश्नपत्र चोरी गर्ने युएन शाखाका परिचर सुरेश बम, साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाह र सई जनक थापा रहेका छन् ।
प्रश्नपत्र लिने डिएसपीलाई भने बिभागीय कारबाही गर्न सिफारिस गरिएको छ । साथै शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षा रद्द गरी नयाँ प्रश्नपत्र तयार गरी परीक्षा लिन पनि भनिएको छ ।
यस प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएका हुन ।
दोषी प्रहरीलाई प्रहरी ऐन बमोजिम बर्खास्तीदेखि नसिहत र बढुवा रोक्कासम्मको कारबाहीका लागि सिफारिस गर्न प्रतिवेदनमा भनिएको हो । शान्ति मिसनका लागि लिइने परिक्षा हुनु दुइ दिन अघि प्रश्नपत्र बाहिरिएको थियो ।