Logo
७ जेष्ठ २०८१, सोमबार
(August 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीपी प्रतिष्ठानमा आर्थिक अनियमितता गर्नेलाई कारबाही हुन्छ : उमेश श्रेष्ठ

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नमाथि कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा सरकारले छिट्टै सिनेट बैठक बोलाई छानबिन समिति गठन गर्नेछ । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही हुन्छ ।’

सिनेटको बैठक नबसी दोषीमाथि कारबाही गर्ने अवस्था नभएकाले सरकारले छिट्टै सिनेटको बैठक बोलाउने उनको भनाइ छ ।राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरुमाथि कारबाही गर्न छुट्टै अनुगमन इकाई बनाउने पनि जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्ने कर्मचारीमाथि कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

समितिका सदस्य एवम् पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले भ्रष्टहरुले स्वास्थ्य सेवा दिने संस्थाहरुमा समेत जरो गाडेर बस्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए ।

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकुलपतिलाई दिइएको असीमित अधिकार तत्काल कटौती गर्न सुझाव दिए ।

प्रकाशित मिति: Aug 6, 2021

प्रतिक्रिया दिनुहोस्