Logo
७ जेष्ठ २०८१, सोमबार
(August 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयको दार्चुला घटना छानबिन टोली आज दार्चुला जादैँ

भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदै छ ।

छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो । टोली सोमबार काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको धनगढी पुग्ने र मंगलबार धनगढीबाट हेलिकप्टर चढेर दार्चुला जाने कार्यक्रम छ ।

छानविन समितिको सदस्यसमेत रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भनिन्, ‘काठमाडौंको टोली आज धनगढी बसेर भोलि दार्चुला आउँछ, त्यसपछि एक राउण्ड छलफल गरेर काम सुरु हन्छ ।’

दार्चुलाकी सहायक प्रजिअ  जोशीका अनुसार प्रत्यक्षदर्शीसँग पनि छानविन टोलीले भेट्ने छ ।गएको शुक्रबार भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास नगरपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । सहसचिव गौतमको संयोजकत्वमा गठित छानविन समितिमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना जोशी भट्टरहेका छन् ।

प्रकाशित मिति: Aug 2, 2021

प्रतिक्रिया दिनुहोस्