Logo
७ जेष्ठ २०८१, सोमबार
(July 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच आज पनि छलफल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेर बहादुर देउवाबीच आज पनि भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिमण्डल विस्तारबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री नियुक्त भएको दुई हप्ता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई जना मन्त्री छन् ।

मन्त्रिपरिषद् विस्तारका लागि क–कसलाई मन्त्री बनाउने भन्नेबारे देउवा र प्रचण्डबीच भेटवार्ता जारी छ । सत्ता गठबन्धनको बैठक पनि बसेको थियो । उक्त बैठकले चाँडै मन्त्रिपरिषद्को टुङ्गो लाग्ने बताइएको थियो ।

उक्त सत्ता गठबन्धनको बैठकमा सहभागी एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी हुन नसकिने बताएका थिए ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड माधव कुमार नेपाललाई पनि सरकारमा सहभागी गराउने पक्षमा छन् । उनले नेपाललाई शनिवारसम्म निर्णय गर्न भनेका छन् ।

नेपालले शनिवार निर्णय दिएमा आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुने सङ्केत देखिएको छ ।नेपाल पक्ष सरकारमा सहभागी भए ६ वटा मन्त्रालय दिने तयारी रहेको स्रोतको भनाइ छ ।

तर नेपाल पक्षले पार्टी एकताको पक्षमा रहेको भन्दै संस्थागतरुपमा सरकारमा सहभागी नहुने बताएको छ । नेपालले सिफारिस गरेका सांसदहरूलाई स्वतन्त्र हैसियतले मन्त्री बनाउन पनि गठबन्धन तयार रहेको छ ।

प्रकाशित मिति: Jul 31, 2021

प्रतिक्रिया दिनुहोस्