Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसका विवादित सदस्यबारे निर्णय लिन नयाँ मापदण्ड बनाउने शीर्ष नेताबीच सहमति

नेपाली कांग्रेसका विवादित सदस्यबारे निर्णय लिन नयाँ मापदण्ड बनाउने शीर्ष नेताबीच सहमति भएको छ ।

शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा करिब ४ घण्टा चलेको शीर्ष नेताबीचको छलफलमा विवादित विषय टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको हो ।

छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

सहमहामन्त्री महतले भने, ‘क्रियाशील सदस्यता छानविन समितिमा निरुपण हुन नकसेको विवादमाथि छलफल गरेर विधिसम्म तरिकाले टुंग्याउनु पर्छ कुरा भएको छ ।’

त्यसका लागि नयाँ मापदण्ड बनाइने उनको भनाइ छ । यस्तै वरिष्ठ नेता पौडेलले पनि मापदण्ड भनेपछि विवाद समाधान हुने बताए ।

छानविन समिति प्रवेश नै नगरी नेतृत्व तहमा बुझाएको सप्तरी र बाराबाट आएको क्रियाशील सदस्यताका सन्दर्भमा नयाँ मापदण्ड बनाइने छ ।

​यस्तै धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका सन्दर्भमा जारी अनशन र धर्नालाई सम्बोधन गरिने महतले बताए ।समायोजन सम्बन्धी विवादले रोकिएको क्रियाशील सदस्यतालाई पनि विधिसम्मत तवरले टुङ्ग्याइने पौडेलले बताए ।

दुई घण्टा छलफलमा बसेर बाहिरिएका सभापति देउवाले काँग्रेस र काँग्रेस हुन चाहनेलाई क्रियाशील सदस्यबाट बन्चित हुनुनपर्ने गरी समाधान खोज्नुपर्ने बताएका थिए । देउवाले छलफलमा सहभागी नेताहरुलाई सोही अनुसार निकास खोज्न भनेका थिए ।

महाधिवेशन हुन नसकेर बारम्बार कार्यतालिका संशोधन गर्ने कुराले राम्रो सन्देश दिएको छैन । अब महाधिवेशन हुने गरी कार्यतालिका बनाउनुपर्छ,’ देउवाको भनाइ छ । महाधिवेशन कहिले र कसरी गर्ने सकिन्छ भन्नेबारे वस्तुपरक ढंगले नयाँ कार्यतालिका ल्याउनुपर्ने देउवाले बताए ।

हिजोसम्म भदौ १६-१९ मै महाधिवेशन हुन्छ भन्दै आएका देउवाले अब नयाँ कार्यतालिकाको आवश्यकता औल्याएका छन् । तर पौडेलले कुनै हालमा भदौभित्र महाधिवेशन गर्नुपर्ने बताए ।

‘विवाद टुंगिहाल्छ, भदौभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्छ,’ बैठकपछि पौडेलले भने । तर काँग्रेसको निर्वाचन गर्ने संयन्त्र निर्वाचन समितिले भने भदौमा महाधिवेशन गर्न सम्भव नभएको बताएको छ ।

निर्वाचन समितिले गर्नुपर्ने अधिकांश काम बाँकी नै भएकाले भदौमा वडा अधिवेशन मात्र गर्ने सकिने समितिले हिसाब सुनाएको थियो ।

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्