Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई नेम्वाङको कटाक्ष : सरकारमा जान प्रधानमन्त्रीले कहिले जनादेश पाउनु भएछ !

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीले भनेको सुनेको थिए- सरकारमा जानलाई हामीलाई जनादेश छैन,’ नेम्वाङले भने, ‘अहिले त उहाँलाई बधाई दिनुपर्ने अवस्था आयो । उहाँले कहिले जनादेश पाउनु भएछ ? अदालतको आदेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौं । यो मैले अन्यथा कुरा भनेको होइन ।’

उनले जनादेशबाट नभइ अदालतको आदेशबाट सरकार प्राप्त भएको जिकिर गरे । उनले आफले प्रधानमन्त्रीको विरोध गरी भनेको नभई एउटा सत्य कुरा भनेको बताए । साथै उनले प्रधानमन्त्रीलाई राजनीतिका राम्रो संस्कार बसाउन पनि अनुरोध गरेका छन् ।

एउटा पार्टीको केही व्यक्तिसँग गठबन्धन गर्नु असंसदीय, अलोकतान्त्रिक र संविधान विपरीत हो भन्ने जान्दाजान्दै कांग्रेसले विगतमा ‘कम्युनिस्टहरु लोकतान्त्रिक मूल्य मान्यता जान्दैनन्’ भनेर सम्झाउने गरेको भन्दै उनले भने, ‘त्यसभित्र यो पर्छ । त्यसउपर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा नेम्वाङले ३० वर्षअघिको एउटा घटना सम्झिए ।

‘उहाँलाई बधाई दिन म उभिएको छु, बधाई दिँदा केही जिज्ञासा छन्,’ उनले भने, ‘थुप्रै घटनाक्रम सम्झिन्छु । कसको पालामा हो त्यो चाहिँ बिर्सेँ । रोचक, घोचक घटना मैले सम्झिन्छु । सार्है रोचक चाहिँ संसदमा सवाल-जवाफ थियो । एउटा बच्चा मरेको कुरा थियो । एकजनाले जवाफ दिनु भयो-गोलीको त आँखै नहुने रहेछ, लाग्यो । यो कसको पालामा हो त्यो मैले बिर्सिएँ ।’

२०४८ सालमा देउवा गृहमन्त्री हुँदा तत्कालीन विपक्षी एमालेको आन्दोलनमा ७ वर्षका बालक अनिश शाक्य र १३ वर्षीकी सम्झना दाहालको गोली लागि मृत्यु भएको थियो । त्यसबारे देउवाले संसदमा जवाफ दिँदा ‘गोलीको आँखा नहुने’ बताएका थिए ।

देउवालाई विश्वासको मत लिने दिन कांग्रेस र माओवादी केन्द्रले मत दिन ह्वीप लगाएको स्मरण गर्दै संसदीय दलका उपनेता नेम्वाङले भने, ‘आफ्नोभित्र अनुशासन चाहिने, आफ्नो पार्टीबाहिर अनुशासन नचाहिने तपाईंहरुको मान्यता हो ?’

 

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्