Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजपनि ओली-माधव भेटवार्ताको प्रयास जारी, नेपालले खोजे ‘पावर शेयरिङ’सहित प्याकेज प्रस्ताव

नेकपा एमालेभित्र विवाद उत्पन्न भई दुई समुहमा विवाजन भएको छ । अहिले नेकपा एमालेका दोस्रो तहका नेताहरु नेकपा एमाले एकताका लागि दिन रात कशरत गरिरहेका छन् ।

एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता गराउने विघटित कार्यदलका नेताहरुको प्रयास जारी रहे पनि दुई नेताको भेट हुन सकेको छैन् । ।

विहीवार अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीम रावललाई माधव नेपालसँग कुरा गर्न र सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका थिए । सोही बमोजिम रावलले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए ।

उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि दुवै नेताबीच संवादको पहल गरिरहेका छन् । यसपटक माधव नेपाल ‘प्याकेज सहमति’को ठोस प्रस्तावबिना वार्तामा बस्न अनिच्छुक रहेको नेपाल निकट स्रोतले जनाएको छ ।

दुई नेताबीच विहीवारै वार्ता प्रयास भएको थियो । तर नेपालको सचिवालयले वार्ताको समय तय नभएको भन्दै सहमतिको प्रस्ताव बिना वार्तामा बस्न नचाहेको सन्देश दियो ।

एमाले केन्द्रीय कमिटीको विहीवार सम्पन्न बैठकले पार्टी एकताको लागि अन्तिम प्रयत्न गर्न अध्यक्ष ओलीलाई जिम्मा दिएको छ । ओलीले एकताको लागि आफू लचिलो बन्न र सबैलाई आम माफी दिन तयार रहेको बताएका छन् ।

पछिल्लो समय आफ्नो हात माथि परेको महशुस गरेका नेपालले ओलीसँग एकताका लागि केही शर्त अघि सारेका छन् । साना मसिना कुरादेखि पावर शेयरिङसम्मको प्याकेजमै सहमति भएमात्र ओलीसँग संवाद हुने नेपाल निकट पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘१० बुँदे सहमति अपूर्ण छ,त्यसलाई संशोधन गरेर विस्तृत प्याकेज सहमति हुनुपर्छ । यो भनेको तलदेखि माथिसम्म नेता कार्यकर्ताको सुरक्षा र पार्टी एक बनाउने कुरा हो ।’

ओलीले पार्टी जोगिन्छ भने आफू माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । नेपाल पक्षले भने छलफलमा आएको कुरालाई ओलीले बाहिर ल्याएर एकताको वातावरण बिगार्ने र माधव नेपाललाई पदलोलुप सिद्ध गर्न खोजेको टिप्पणी गरेको छ ।

आफूसँगको कुराकानीमा नेपालले दोस्रो अध्यक्ष मागेको ओलीले बताएका छन् । तर नेपाल पक्षका नेताहरु भने दोस्रो अध्यक्ष भन्नु पनि माधव नेपालको अपमान हुने भन्दै दुई अध्यक्ष भन्न सकिने बताउछन् ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्