Logo
५ जेष्ठ २०८१, शनिबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भाग्यमानी’ शेरबहादुर देउवा : जो ५ औँ पटक सत्ताको बाघडोर सम्हालन सफल भए

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक मुलुकको कार्यकारी पदमा पुगे । सोमबार सर्वोच्च अदालतको परमादेशअनुसार देउवा मंगलबार पाँचौपटक प्रधानमन्त्रीमा नियुक्त भए ।

२००३ सालमा डडेल्धुराको असीग्राममा जन्मिएका देउवाले स्थानीय असीग्राम प्राविबाटै प्रारम्भिक शिक्षा हासिल गरेका थिए । डोटीको सीताराम माविबाट माध्यमिक शिक्षा पूरा गरेका देउवा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।

उच्च शिक्षाका लागि काठमाडौंको त्रिचन्द्र क्याम्पसमा भर्ना भएसंगै देउवा राजनीतिक गतिविधिमा क्रियाशील हुन थालेका थिए । २०१७ साल पुस १ गतेको कदमविरुद्ध संघर्षमा रहेको नेपाली कांग्रेसको विचारबाट प्रभावित देउवा आफूलाई ‘डेमोक्रेट’ भन्न रुचाउँथे ।

नेपाल विद्यार्थी संघको स्थापनापूर्व नै विद्यार्थी राजनीतिमा क्रियाशीलता बढाएका देउवा २०२८ सालमा नेविसंघको सभापति बने । राजनीतिक जीवनकालमा पटक–पटक गरी १० वर्षभन्दा बढी समय जेल जीवन बिताएका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

कानुनमा स्नातक समेत गरेका देउवा सर्वोच्चको फैसलापछि पाँचौपटक प्रधानमन्त्री बनेका हुन् । आफूलाई ज्योतिषले ७ पटकसम्म प्रधानमन्त्री हुने भविष्यवाणी सुनाएको बताउने देउवा २०४८ सालदेखि यताका सबै निर्वाचनमा अपराजित छन् ।

गृहजिल्ला डडेल्धुराबाट लगातार ६ पटकसम्म निर्वाचन जितेका देउवा २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टी सभापति बन्न सफल भएका थिए । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री रहेका देउवा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए ।

मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकार ढलेपछि देउवाले सरकारको नेतृत्व गर्ने अवसर पाए । २०५८ सालमा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल असोज १८ मा अपदस्त गरेका थिए ।

केपी ओली नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकार ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाएका देउवाले माओवादीकै समर्थनमा २०७४ जेठमा चौथोपटक सत्तारोहण गरे । चौथोपटक प्रधानमन्त्री हुँदा तीन वटै तहको निर्वाचन गराउने महत्वपूर्ण कार्यभार देउवाले पूरा गरे । यद्यपि निर्वाचनमा पार्टी जिताउन असमर्थ भएपछि २०७४ मंसिरपछि देउवा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा थिए । नेकपा विवाद र प्रधानमन्त्री ओलीले चालेका पछिल्ला राजनीतिक कदमबाट प्रत्यक्ष लाभ लिदै देउवा पाँचौ पटक सत्तामा पुगेका छन् ।

संविधानतः १ महिनाभित्र संसदमा विश्वासको मत लिनैपर्ने बाध्यता देउवासामू छ । विश्वासको मत नपाए मध्यावधि निर्वाचन सम्पन्न गराउने दायित्व देउवाकै काँधमा आउनेछ । पार्टीको १४ औं महाधिवेशनबाट सभापतिमा दोहोरिने तयारी गरिरहेका देउवालाई यसपटकको सत्तारोहण कत्तिको फाप्ला ? अझै केहीदिनको राजनीतिक परिस्थितिले निर्धारण गर्नेछ ।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्