Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यो गठबन्धन प्रधानमन्त्रीको संघर्षका लागि नभई संविधानको रक्षाका लागि हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको संघर्षका लागि नभई संविधानको रक्षाका यो गठबन्धन गठन भएको बताएका छन् ।

बिहीबार सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरू बीचको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकाले लामो समयसम्म सँगसँगै जानसक्ने बताए ।

उनले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको बताए । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको रहेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले ०४६ साल र ०६२/०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्‍याएकाले आन्दोलन सफल हुने बताए । ‘यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन,’ उनले भने, ‘यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बिचको लडाइँ हो, सिस्टम बचाउने वा नबचाउने भन्ने बीचको लडाइँ हो ।’

अध्यक्ष दाहालले सर्वोच्च अदालतमा आफूहरूको कुनै सेटिङ नभएको बताछन् । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसला अघि आफूले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उहाँले आफूहरू सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उहाँको आरोप छ । राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उनको ठहर छ । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अधयक्ष दाहालले एमसीसीको सम्बन्धमा संसदबाट सहमति गराएर राष्ट्रिय हित अनुकुल अघि बढाउने बताए ।

 

प्रकाशित मिति: Jun 24, 2021

प्रतिक्रिया दिनुहोस्