Logo
५ जेष्ठ २०८१, शनिबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ बजेर २५ मिनेटमा #उज्वल थापाको निधन, अन्तिम संस्कारमा भीड नगरिदिन पारिवारिक आग्रह

विवेकशील साझाका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको अस्पतालले औपचारिक रुपमा पुष्टि गरेको हो ।

हेर्नुस् रवीन्द्र मिश्रद्वारा प्रेसित शोक वक्तव्य : 
विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज भएको निधनले सिङ्गो पार्टीपंक्ति स्तब्ध भएको छ। दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो। विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार” विषयमा छलफल र बहस चलाउने छ।
नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ। खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ।
थापाले अङ्गाल्नु भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने छ। यो विषम् पीडाको क्षणमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै थापाको उपचारका क्रममा उहाँको स्वास्थ्य लाभ कामना गर्दै स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि विवेकशील साझा पार्टी सबैमा हार्दिक आभार व्यक्त गर्दछ।
रवीन्द्र मिश्र, अध्यक्ष , मिलन पाण्डे, संयोजक
विवेकशील साझा पार्टी
मिति: १८ जेठ २०७८
हेर्नुस् उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी गरिएको प्रेस वकतब्य : 

हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४:२५ बजे) हामीबिच रहनु भएन ।

हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ !

उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ! उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ !

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ ।

उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,

२०७८ जेठ १८ गते

 

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्