Logo
५ जेष्ठ २०८१, शनिबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह, जसपाका नेताहरुद्वारा केहि दिनको समय माग

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रिय सहमतिको सरकार बनाउन अग्रसर भएको भन्दै जसपाका नेताहरूलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतको भेटवार्ता सकिएको छ ।

भेटमा मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल भएको नेता कर्णले जानकारी दिए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुस्, सँगै काम गरौं भन्नुभयो । हामीले पार्टीमा आपसमा कुरा गरेर भन्छौं भनेका छौं,’ नेता कर्णले भने ।

‘सरकारमा त जाने नै हो, ८ मन्त्री र २ राज्यमन्त्री लिने भनेर अध्यक्ष महन्थजीले भनिसक्नुभएको छ,’ उनले भने,’ हाम्रो पार्टीमा पनि विवाद छ, त्यसलाई लिएर छलफल पछि भोलिपर्सीमा भन्छौं भनेका छौं ।’

मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने उनले बताए ।

बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको पनि सहभागीता थियो । कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत रहेका छन् ।

यस्तै कार्यदलका सदस्य एवं एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङका अनुसार वार्ता चलिरहेको र टुंगो लागि नसकेको बताए । ‘मुद्दाका विषय टुंगो नलागिसकेकाले सरकारमा सहभागीताबारे तत्काल केही निर्णय भएन,’ उनले भने ।

बालुवाटारमा छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेको वार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

जसपा सरकारमा सहभागी हुन तयार नै रहे पनि एक-दुई दिन अझै समय लाग्ने उनले बताए । जसपा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने निश्चित भइसकेको छ ।

पार्टीभित्र सर्वसम्मत निर्णय बनाउने वा कार्यकारिणी समितिमा पनि बहुमत जुटाएर निर्णय गर्नका लागि ठाकुर पक्षले समय मागेको स्रोतले जनाएको छ ।

एकले अर्को पक्षलाई कारवाहीको तयारी गरेका बेला कानुनी रुपमा पनि दल विभाजन हुँदा आधिकारिकता पाएर सरकारमा सहभागी हुन खोजेको जसपाका नेताहरूले बताएका छन् ।

बालुवाटारमा आज भएको छलफलमा एमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी थिए ।

त्यस्तै जसपाबाट अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए ।

नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्