Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिना अक्सिजन नै वीरगन्जकी ९१ वर्षीया उपमेयर कोरोनाबाट निको भइन् 

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी प्रदेश २ स्थित वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की निको भएकी छन्।

दुई साताअघि उनलाई कोरोना देखिएको थियो। बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट निस्केकी हुन्।

महानगरका मेयर विजयकुमार सरावगीले उपमेयर कार्कीलाई कोरोना नेगेटिभ देखिएको बताए। उपमेयर कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या देखिएन।

‘महानगरले नै चलाएको कोभिड-१९ अस्पतालमा उहाँ १३ दिन बस्नुभयो,’ मेयर सरावगीले भने, ‘कोरोना संक्रमण नेगेटिभ आएपछि उहाँलाई आज घर पुर्‍याइएको छ।’

‘उहाँलाई रेखदेख गर्न एक जना चिकित्सक राखेका थियौं। अक्सिजनलगायत केही पनि आवश्यक परेन,’ उनले भने। उपमेयर कार्कीको आफ्नै घर छैन। अविवाहित कार्की आफन्तहरूको घरमा बस्ने गरेकी छन्।

आज उनी वडा नम्बर ४ स्थित भाउजूको घरमा छिन्। २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट कार्की उपमेयर निर्वाचित भएकी थिइन्। कार्की महानगरको उपमेयर निर्वाचित हुने सवैभन्दा बढी उमेरकी व्यक्ति हुन्।

लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेकी उनी वीरगंगमा समाजसेवामा पनि क्रियाशील छन्। उनी कांग्रेस पर्साकी उपसभापति, वीरगंज नगरकी सभापति र नेपाल महिला संघको केन्द्रीय सदस्य भइसकेकी छन्।

तस्बिर : मेयर सरावगीको फेसबुकबाट

प्रकाशित मिति: May 20, 2021

प्रतिक्रिया दिनुहोस्