Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरायसी विवादमा १९ वर्षका देवरद्वारा नहरको डिलमा २४ वर्षीया भाउजू अनिता यादवको हत्या

प्रदेश १ स्थित मोरङ जिल्लाको रंगेली नगरपालिका–३ चिलुवामा घरायसी विवादमा देवरले भाउजूको घाँटी रेटेर हत्या गरेको घट्ना बाहिरिएको छ ।

स्थानीय प्रहरीका अनुसार रंगेली-३ का बेचन यादवकी पत्नी २४ वर्षीया अनिता यादवको हत्या भएको हो ।

उनका देवर १९ वर्षीय विनोद यादवले दाउ प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

रंगेली–३ स्थित चिलुवा चोकनजिक रहेको नहरमा घाँटी रेटिएको अवस्थामा अनिताको शव बुधबार भेटिएको थियो । नहरमा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङको नेतृत्वमा इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक अनमोल खडकालगायतको टोली घट्नाको अनुसन्धानका लागि परिचालन गरेको छ ।

अनुसन्धान गर्ने क्रममा सुरुमा अनिताका पति बेचन, सासू बिजलीदेवी र ससुरा रामु यादवसँग सोधपुछ गर्दै गएपछि विनोदसँग घरायसी विवाद हुँदै आएको रहस्य खुलेको प्रवक्ता राईले बताए ।

‘बिहानै उठेर घरबाट फरार भएका विनोदलाई रंगेलीबाट नियन्त्रणमा लिएर अनुसन्धान गर्दै गएपछि घटनाबारे विस्तृत जानकारी प्राप्त भयो,’ उनले भने, ‘विनोदको अनितासँग मंगलबार पनि विवाद भएको अनुसन्धानबाट खुलेको छ ।

मंगलबार साँझ पति बेचन समयमा घर नआएपछि अनिता खोजी गर्न घरबाट निसकिँदा बाटोमा ढुकेर बसेका देवर विनोदले उनलाई पछ्याउँदै गएका थिए ।

पछ्याउने क्रममा नहरको डिलमा पुगेपछि दुवै जनाको भनाभन भएको र त्यसै क्रममा विनोदले भाउजूलाई धकेलेर लडाएपछि घाँटीमा दाउ प्रहार गरेर साँझ ७:३० बजे हत्या गरेको अनुसन्धानबाट खुलेको राईले बताए । घटनास्थल उनको घरदेखि उत्तरतर्फ डेढ किलोमिटरको दूरीमा छ ।

‘हत्या गरेर आएपछि विनोदले दाउ र लुगा धोएर घरमा राखेको अनुसन्धानको क्रममा खुल्यो,’ राईले भने, ‘विनोदले भनेकै ठाउँबाट दाउ र हत्या गर्ने वेलामा लगाएको लुगा बरामद भएको छ ।’

राति ८ बजेतिर बेचन घर आएपछि अनितालाई खोज्न निस्किँदा विनोद पनि सँगै गएको तर कहीँ नभेटेपछि अबेर राति फर्केर आएपछि दुवै जना सुतेका थिए । विनोद बिहान उठेपछि फरार भएका थिए ।

‘विनोदलाई नियन्त्रणमा लिई घटनामा परिवारका अन्य सदस्यको संलग्नता भए नभएकोबारे अनुसन्धान भइरहेको छ,’ राईले भने, ‘विनोद पहिलेदेखि नै झगडालु प्रवृत्तिको भएको र आमाबुबालाई पनि कुट्पिट गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।’

दुई वर्षअघि अनिताको बेचनसँग मागी विवाह भएको थियो । तर विगत एक वर्षदेखि विनोदसँग सानो सानो विषयमा विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राईले बताए ।

प्रकाशित मिति: May 20, 2021

प्रतिक्रिया दिनुहोस्