Logo
५ जेष्ठ २०८१, शनिबार
(May 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा ओलीलाई असफल बनाउन उपेन्द्र निवासमा प्रचण्ड-माधवसहितको छलफल

उपेन्द्र निवासमा प्रचण्ड-माधवसहित आज छलफल भएको छ ।जसपाका संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल छलफलका लागि जुटेको बताइएको छ ।

मंगलवार देउवासहित छलफल गरेका नेताहरु बुधवार विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको घरमा छलफल गरेका छन् ।

तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको यादवनिकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु सघन छलफलमा जुटेका छन् ।

यो गठबन्धनमा एमालेको माधव नेपाल पक्ष पनि समेटिएको छ ।जसपाको एउटा पक्षले उपेन्द्रहरुलाई नै कारवाहीको तयारी गरेपछि एमालेबाट कारवाहीमै परेका माधव नेपाल सहित प्रचण्डले छलफल गरेका हुन् ।

एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम(उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत लिनबाट असफल बनाउने र उनकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्नेगरि राजिनामाको विषय छलफलमा रहेको छ ।

त्यस्तै जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको छ ।

यसअघि हिजो साँझ महाराजगञ्जस्थित प्रमोद राणाको घरमा यी तीन नेता र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिन संसद बैठक तय भएपछि त्यसलाई असफल बनाउन ओलीइतरका नेताहरूले भेटघाट र छलफललाई तीव्र बनाएका छन् ।

प्रकाशित मिति: May 5, 2021

प्रतिक्रिया दिनुहोस्