Logo
५ जेष्ठ २०८१, शनिबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल भन्छन् : ‘ओलीसँगको वार्ता बालुवा पेलेर तेल निकाल्नु जस्तै हो’

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमा नरहेको आरोप लगाएका छन् । साथै उनले ओलीको दम्भ धरहराभन्दा माथि पुगेको समेत बताएका छन् ।

शुक्रबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू आन्दोलनबाट नभाग्ने र संगठन छाडेर नहिँड्ने प्रष्ट्याए ।

पार्टीले सोधेको स्पष्टीकरणबारे नेपालले आफैंले पार्टी परित्याग गरेको, अर्को पार्टी ज्वाइन गरेको र संसदीय दलले जारी गरेको ह्वीप नमानेको खण्डमा मात्र संसदबाट हटाउन सकिने उल्लेख गरे । आफूहरुसँग बहुमत भएको तर अध्यक्ष ओलीलाई कारबाही भने नगर्ने उनको भनाइ थियो ।

‘मैले भनेको थिए बालुवा पेलेर तेल निस्किने बेला छैन’,पत्रकार सम्मेलनमा नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छँदै छैन । वामदेवजीले तैपनि पेल्नुस् न एकपटक भनेपछि छलफलमा गयौं । तर, बालुवा पेलेर तेल निस्किनेवाला छैन । केपी ओली सुध्रिनेवाला छैन ।’

‘केपी शर्मा ओलीको दम्भ भर्‍याङ उक्लेर धरहराभन्दा माथि बसेको छ’, नेता नेपालले भने, ‘त्यसैले हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ । धरहरा हेरेर उहाँले आफ्नो दम्भ देखाइरहनु भएको थियो ।’ ओलीमा भएको दम्भको कुनै अर्थ नरहेको भन्दै नेपालले आफूहरु आन्दोलन, पार्टी र लोकतन्त्र नछाड्ने दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले आफूलाई पटक पटक भेट्नका लागि आग्रह गरेको कारण आफूले भेटेको खुलासासमेत उनले गरे ।

ओलीले छलफलका लागि आफूलाई बालुवाटार बोलाएको तर बालुवाटार आउँदिन भनेर जवाफ दिएपछि बालकोटमा भेटौं भनेर प्रस्ताव गरेको पनि उनले खुलासा गरे । बालकोटमा पनि आउँदिन भनेर आफूले जवाफ दिएपछि होटलमा भेटघाट गरिएको उनको भनाइ थियो ।

‘बालुवाटार वा बालकोट गएको भए सबैले भन्थे, माधवकुमार नेपाल ओलीलाई भेट्न लुरुलुरु बालुवाटार गए, बालकोट गए,’ उनले भने, ‘म त्यो अवस्था नआओस् भनेर बालुवाटार र बालकोट जान नमानेको हुँ ।’

आफू पहिला परराष्ट्रमन्त्री भएको कारण अलिअलि कुटनीति पनि जानेको बताउँदै उनले द्वन्द्व व्यवस्थापनका लागि दुवै पक्षको सहमतिमा ठाउँ खोज्नुपर्छ भनेर होटलमा गएर छलफल गरेको बताए ।

ओलीसँग कुराकानी सुरु भएकोमा आफू केही आशावादी भए पनि ओलीमा दम्भ कायमै रहेको पाएकाले अब आफू धेरै आशावादी नरहेको उनको भनाइ थियो ।

आफूले ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन प्रस्ताव गरेको उनले बताए । उनले भने, ‘पार्टीलाई एकतावद्ध बनाउँ, क–कसलाई थप्नुपर्छ, छलफल गरौँ भनेर प्रस्ताव गरेँ, तर उहाँले आफूले गरेका निर्णय मान्नैपर्ने अडान लिनु भयो ।’

उनले बिहीबारको छलफलमा ओलीले आफूविरुद्ध गरिएको ६ महिने कारवाहीका सम्बन्धमा विचार गर्न सकिने भनेर आश्वासन दिएको तर आफूले त्यो कारवाहीको औचित्यमै प्रश्न उठाएको पनि उनले जानकारी दिए । उनले ओलीतिर लक्षित गर्दै भने, ‘तपाईले मलाई पार्टीबाट निकाल्ने रु यो माधव नेपालले आन्दोलन र संगठन दुईवटै सञ्चालन गर्दै आएको छ, कसैले निकालेमा निस्कनेवाला छैन । आन्दोलन र संगठनबाट निस्कनेवाला छैन ।

केपी ओलीले फागुन २८ को निर्णय फिर्ता नलिने अडान राखेपछि डिनर छाडेर हिँडेको कुरा वामदेव गौतमले आफूलाई फोन गरेर बताएको नेता नेपालले बताए । उनले भने, ‘अब पार्टी नबच्ने भन्दै केपी ओलीविरुद्ध उभिनैपर्ने भयो छलफल गर्नुपर्ने भो भन्नुभो ।’

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्