माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
आज दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रले सोमबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सरकारले सोमबार एकाएक प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गर्न लागेको हो ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन अन्त्य गरेकी छन् ।
नेता श्रेष्ठका अनुसार आज स्थगित भएको स्थायी कमिटी बैठक मंगलबार बस्ने छ । त्यसअघि कांग्रेस, जसपासँग छलफल हुने उनले बताए । यद्यपि समय तय भइनसकेको उनले बताए ।
माओवादी, कांग्रेस र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवको समूह ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने कसरतमा छन् ।