Logo
७ बैशाख २०८१, शुक्रबार
(April 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्री राईले सम्बोधन गर्ने

प्रदेश १ सरकारले सातौं हिउँदे अधिवेशन अन्त्यको तयारी गरेको छ ।जारी सातौं हिउँदे अधिवेशनको आठौं बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि आइतबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

सत्ता पक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

सरकारका प्रवक्ता कार्कीले भने प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरे पनि प्रकृया पूरा गरेर अधिवेशन अन्त्य गरिने बताए ।

प्रदेश १ को प्रदेश सभामा देखिएको गतिरोध अन्त्यका लागि आइतबार बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन् ।

विशेष समयमा मुख्यमन्त्री राईलाई बोल्न नदिए प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले सदनमा आइतबार मुख्यमन्त्री राईले विशेष समय लिएर बोल्ने तयारी गरेको बताए ।

सत्तारुढ दल माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सहमति कायम नगरेसम्म सरकार प्रमुखलाई जबरजस्ती बोल्न नदिने बताए । सदनमा अबरोध कायमै रहने उनको भनाई छ ।

समस्या सामधानका लागि मुख्यमन्त्री शेरधन राईले गत सोमबार सर्वदलीय छलफल राखेका थिए । सो छलफल विनानिष्कर्ष सकिएको थियो । त्यसता सत्तापक्षले प्रतिपक्षीसँग छलफल गरेको छैन ।

प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सदन अवरोध गर्दै आएका दलहरूसँग सहमति नगरेसम्म मुख्यमन्त्री राईलाई प्रदेशसभा बैठकमा बोल्न नदिने बताए ।

चालु आर्थिक वर्षमा स्वीकृत योजनाहरूको स्रोतको सुनिश्चितताको माग गर्दै सत्तारुढ दल माओवादी केन्द्रका साथै सबै प्रतिपक्षी दलहरूले चैत २६, २७ र ३० गते बसेको बैठक अवरुद्ध गरेका थिए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको थियो । सरकारले बजेट घाटामा सन्तुलन कायम गर्न मन्त्रिपरिषद् निर्णयमार्फत चालु आर्थिक वर्षको असोजमै ५० प्रतिशत बजेट कटौती गरेको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार र विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रमको समेत बजेट कटौति भएपछि प्रदेशसभामा विवाद उत्पन्न भएको हो ।

प्रदेशसभाको सातौ हिउँदे अधिवेशन गत माघ ७ गतेबाट सुरु भएको थियो । सुरुमा सत्ता पक्षले अवरोध गरेको बैठक चैत २३ यता प्रतिपक्षी दलहरुले अवरुद्ध गरिरहेका छन् ।

गत माघ ७ गतेबाट सुरु भएको प्रदेशसभा बैठक तीन महिनाको अवधीमा जम्मा सात पटक बसेको छ । तर बसेका बैठक पनि सत्ता पक्ष र प्रतिपक्षको अवरोधका कारण अघि बढ्न सकेन।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तापक्षले बैठक अवरुद्ध गरेको थियो । चैत २३ गते माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि प्रतिपक्ष दलले अवरुद्ध गरिरहेका छन् । अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको छैन ।

 

प्रकाशित मिति: Apr 18, 2021

प्रतिक्रिया दिनुहोस्