Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघ अर्घाखाँचीमा गैरपत्रकारको ‘हालीमुहाली’ ! जनप्रतिनिधीदेखी पार्टी प्रमुख सम्म मतदाता

नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा गैरपत्रकारको हालीमुहाली नै देखिएको छ ।

पत्रकार महासंघ अर्घाखाँचीमा रहेका मतदाताहरुको नाम सार्वजनिक भइसकेपछि महासंघमा पत्रकार भन्दा राजनीतिकर्मी बढी देखिएका छन् ।

पार्टीका जिल्ला प्रमुख देखी जनप्रतिनिधी समेत महासंघ अर्घाखाँचीको सदस्यको लिष्टमा रहेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान देखी काँग्रेसकै पूर्व जिल्ला कोषाध्यक्ष हरि बहादर खड्काको नाम मतदाता नामावलीमा छ ।

त्यस्तै नेपाली काँग्रेसका भूमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुराका पार्टी सभापती उमेश घिमिरेको नाम पनि मतदाता नामावलीमा छ ।

त्यसैगरी हाल माधव नेपाल पक्षमा लागेका नेकपा एमालेका सचिव राम बहादुर चौहान, उपसचिव प्रेम नारायण गैरे सहित नेकपा एमालेकै भूमिकास्थान नगर अध्यक्ष राजेन्द्र आचार्य, मालारानी इन्चार्ज तुल्सीराम मिश्र सहित नेकपा एमाले मालारानी अध्यक्ष शालिकराम आचार्य पनि पत्रकार महासंघको मतदाता हुन् । आचार्य सूर्यथुम संयुक्त क्याम्पसको प्राचार्य समेत हुन् ।

नेकपा माओवादी केन्द्र अर्घाखाँचीका संयोजक समेत रहेका सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार वि.क.को नाम पनि मतदाता नामावलीमा छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य भक्तबहादुर पुनदेखी छकमुमारी खनाल समेत पत्रकार महासंघको साधारण सदस्य हुन् । नेकपा एमालेले केहीदिन अघि जिल्ला सचिवमा मनोनित गरेका नेता तोज बहादुर रायमाझी पनि महासंघ अर्घाखाँचीको साधारण सदस्य हुन् ।

त्यसैगरी राष्टिय जनमोर्चाका जिल्ला समिति उपाध्यक्ष जिवलाल (गोपाल) पौडेलदेखी भूमिकास्थान नगर समिति अध्यक्ष टेक बहादुर थापाको नाम समेत मतदाता नामावलीमा छ ।

पार्टीको जिम्मेवार भूमिकामा रहेकाहरु सहित जिल्ला समिति सदस्यमा रहेकाहरुको फेहरीस्त लामै छ । सुरक्षा निकायका कर्मचारी सहित कर्मचारीहरु सहित शिक्षकहरुको लिष्ट पनि ठूलै छ ।

नेपाल पत्रकार महासंघको विधानको परिच्छेद ८ को अनुशासन र आचार संहितामा महासंघको कुनैपनि सदस्यले कुनैपनि राजनीतिक दल वा भातृसंगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने प्रावधान रहेको छ ।

महासंघको विधानमा पत्रकारले पेशा परिवर्तन गरेमा स्वतह सदस्यता खारेज हुने व्यवस्था छ । अझ महासंघको जिल्ला अधिबेशन हुनु अगावै जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले पदाधिकारी तथा सदस्यहरु बाँडफाँड गर्ने अर्घाखाँचीको पुरानै प्रचलन हो ।

पत्रकारीता जस्तो पवित्र क्षत्रमा सहमतीको नाउँमा खुलेआम बाँडफाँड गर्ने संस्कार कमसेकम यो पटकबाट राजनितिक दलका शिर्ष नेताहरुले त्याग गर्न जरुरी रहेको जिल्लाका अग्रज पत्रकारहरुको भनाई छ । पत्रकार महासंघ अर्घाखाँचीको अधिवेशन नजिकिएसंगै सदस्यता शुद्धिकरणको विषय व्यापक रुपमा उठेको छ ।

अर्घाखाँची जिल्लामा रहेका मतदाताहरुको नाम सार्वजनिक भइसकेपछि महासंघमा पत्रकार भन्दा राजनीतिकर्मी बढी रहेको भन्दै तत्काल शुद्धिकरण अभियान थाल्न नेतृत्वलाई जिल्लामा कार्यरत पत्रकारहरुले दबाब दिएका हुन ।

विगतमा उल्लेखनिय भूमिका निर्वाह गरी हाल पत्रकारीतामा नरहेकाहरुलाई ससम्मान विदायी गरी नयाँ सदस्यता वितरण गर्दा दलीय बाँडफाँड नगरी योग्यता र क्रियाशिलताका आधारमा सदस्यता वितरण गर्न नेतृत्वले ढिलाई गर्न नहुने उनीहरुको भनाई छ ।

 

 

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्